काठमाडौं । मंगलबार प्रतिनिधिसभाको लागि तय भएको बैठक सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि यहि साउन २२ गतेसम्मका लागि स्थगित भएको छ ।
दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक नियमित सञ्चालनका लागि आग्रह गरे पनि सहमति जुट्न सकेन । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षका मुख्य सचेतकले बैठक सञ्चालन गर्न आग्रह गरेका थिए भने विपक्षी दलका प्रमुख सचेतकले उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए ।
विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले अर्को मिति तय गरिएको सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । यही साउन २२ गते सोमबार दिनको १ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ ।