काठमाडौं, वैशाख १७
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रमिकहरूलाई चैत महिनाको पारिश्रमिक विना भेदभाव उपलब्ध गराई असल श्रम सम्बन्ध कायम राख्न रोजगारदाताहरूलाई अनुरोध गरेको छ । सुदृढ श्रम सम्बन्धबाट मात्र उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने कुरा नबिर्सन जिफन्टले रोजगारदाताहरूलाई स्मरण गराएको छ ।
जिफन्ट राष्ट्रिय कमिटीको ९७औँ भर्चुअल (अनलाइन) बैठकले श्रम बजारलाई सुदृढ बनाउँदै श्रमिकहरूको रोजगारीको सुनिश्चितता, पारिश्रमिकको प्रत्याभूति र कार्यथलोमा व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्था गर्न रोजगारदाता तथा नेपाल सरकारसँग माग गरेको छ । यसैगरी लकडाउनको अवधिमा स्वास्थ्य क्षेत्र, छापाखाना, सञ्चारगृहहरूमा कार्यरत श्रमिकहरूलाई निष्काशन गर्ने र बेतलबी विदा बस्न दबाब दिने काम अविलम्ब रोक्न सम्बन्धित सबै रोजगारदाताहरूसँग जिफन्टले अनुरोध गरेको छ । यस्तो क्रियाकलापले श्रम बजारमा नयाँ द्वन्द्व उत्पन्न गर्ने तर्फ सबैको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।
लकडाउन अवधिमा विदा दिइएका कर्मचारी वा श्रमिकहरूले खाईपाई आएको तलब, भत्ता पाउने गरी नेपाल सरकारले राजपत्र प्रकाशन गरेकोमा जिफन्ट राष्ट्रिय कमिटी नेपाल सरकारलाई धन्यवाद पनि दिएको छ । बैठकमा अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवसको सन्दर्भमा पनि छलफल भएको थियो । २८ अप्रिल संसारभरका श्रमिकहरूले विशेष महत्वसाथ श्रमिक स्मृति दिवस मनाइने गर्दछ ।
मृत्यु भएका मृतकहरूको सम्झना तथा बाँचेकाहरूका लागि संघर्ष गर्ने अठोट गर्दै संसारभर हरेक वर्ष विभिन्न कार्यक्रम सहित मनाउने गरिन्छ । जिफन्टले यस दिवसको अवसरमा हरेक वर्ष मर्यादित तथा सुरक्षित कामका लागि सचेतना फैलाउन विविध कार्यक्रम आयोजना गर्दै आएको थियो ।