काठमाडौं । बुधबारदेखि राजधानीमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु हुँदैछ । बिहान ११ बजे सो बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।
बैठकले सरकारको कामकारबाहीका बारेमा समीक्षा गर्नेछ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताएका छन् । सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ ।
तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र १० प्रदेशका पदाधिकारी एक सय जना बैठकमा सहभागी हुनेछन् । बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
केन्द्रीय समितिको बैठकको माओवादी केन्द्रले प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरेको छ । बैठकको कार्यसूचीलाई पूर्णता दिन बुधबार बिहान माओवादीको स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।