काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा आन्दोलनरत निर्माण व्यवसायीहरू चार दिनदेखि धर्नामा उत्रिएका छन् । महासंघले बुधबार पनि प्रधानमन्त्री निवास बालुवाटार र नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि धर्ना दिएको हो ।
बालुवाटारअगाडि बिहान ९ बजेदेखि १० बजेसम्म र संसद् भवनअगाडि दिउँसो ३ देखि ४ बजेसम्म धर्ना दिएको महासंघले जनाएको छ । धर्नामा सहभागीहरूले आफूहरूको आन्दोलनलाई कम नआक्न सरकारलाई चेतावनी समेत दिएका छन् । सबै निर्माण कार्यहरू ठप्प पारी सशक्त आन्दोलनमा उत्रिने अध्यक्ष रवि सिंहले बताए । धर्नामा सहभागीहरूले विभिन्न निकायमा काम गरेबापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका—२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गरलगायतका नारा लगाएका थिए ।