काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन गर्न अस्पताललाई निर्देशन दिएको छ । अस्पताल परिसरभित्र आफ्नो स्वामित्वमा फार्मेसी नभएका अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सामुदायिक प्रतिष्ठान तथा मेडिकल कलेजको नाममा परिपत्र जारी गर्दै तोकिएको समयभित्र फार्मेसी सञ्चालनमा नल्याए कारबाही गर्ने चेतावनी दिएको छ । ‘हालसम्म पनि आफ्नो स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था/अस्पतालले यो परिपत्र जारी भएको मितिले एक महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नो स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन हुने व्यवस्था मिलाई मन्त्रालयमा पत्राचार गर्न र सो नभएको पाइएमा कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइनेछ’, मन्त्रालयद्वारा जारी परिपत्रमा उल्लेख छ ।
मन्त्रालयबाट जारी अस्पतालको न्यूनतम सेवा मापदण्डमा समेत अस्पताल हाताभित्र अस्पताल फार्मेसीबाहेक अन्य फार्मेसी हुनुहुँदैन भन्ने प्रावधानसमेत उल्लेख गरिएको छ । यस्तै, फार्मेसी भएका अस्पतालले अस्पतालमा प्रयोग हुने सम्पूर्ण औषधि तथा औषधिजन्य सामग्री २४सै घण्टा उपलब्ध गराउनुपर्ने मन्त्रालयको निर्देशन छ । परिपत्रमा मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक उषा तण्डुकारले अस्पतालमा बिरामी वा बिरामीको कुरुवाले आवश्यकताअनुसार जुनसुकै समयमा औषधि प्राप्त गर्न सक्ने अवस्थाको सुनिश्चितता गर्नुपर्ने उल्लेख गरेकी छन् ।