सुबास बस्नेत
दोलखा, वैशाख १७
लकडाउन उलंघन गर्ने बढेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले मंगलबारदेखि जिल्लामा लकडाउनलाई कडाइ गरेको छ । सरकारले लकडाउनलाई थप कडा गर्न निर्देशन गरेसँगै दोलखामा पनि कडा गरिएको हो । सदरमुकाम चरीकोटमा लकडाउनको उल्लंघन गरेको भन्दै मंगलबार प्रहरीले सवारीसाधनहरूलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका सवारी साधनमा सरकारी मोटरसाइकलदेखि ट्याक्टरसम्म रहेका छन् ।
गृह मन्त्रालयको निर्देशनअनुसार थप कडाइ गरिएको दोलखा प्रहरीका प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए । मंगलबार मात्रै प्रहरीले २ सरकारी बाइकसहित १६ वटा मोटरसाइकल, चार पांग्रे सवारीसाधन छ, छ चक्के एक र ट्याक्टर एउटा नियन्त्रणमा लिएको छ । लकडाउनको ३६ दिनमा प्रहरीले तीन हजार पाँच सय ८८ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको जनाएको छ । लकडाउनमा थप कडाइ गर्ने क्रममा मंगलबार एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्ने उपायबारे प्रशिक्षण दिएर छोडिएको प्रहरीले जनाएको छ । लकडाउन उल्लंघन गरेकालाई कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम र बच्ने उपायबारे हरेकलाई १० मिनेटको प्रशिक्षण दिइएको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।