काठमाडौं । बाध्यकारी व्यवस्थाको बाबजुद नेपालमा काम गर्नका लागि नयाँ श्रम स्वीकृति लिनेभन्दा पुनः श्रम स्वीकृति लिई काम गर्ने दक्ष गैरनेपाली नागरिकको संख्यामा वृद्धि भएको छ । दक्ष श्रमिक मात्र नेपालमा बसी काम गर्न पाउने बाध्यकारी व्यवस्थाका बाबजुद गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृति लिनेभन्दा पुनः श्रम स्वीकृति लिने दक्ष गैरनेपाली नागरिकको संख्या बढेको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार गैरनेपाली नागरिकहरूले गत आर्थिक वर्षमा एक हजार तीन सय ६९ जनाले नयाँ श्रम स्वीकृति र ६९ हजार पाँच सय ९५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । साथै पाँच हजार पाँच सय २३ जनाले व्यक्तिगत श्रम स्वीकृति र एक हजार छ सय २५ जनाले श्रम स्वीकृति नवीकरण गरेका छन् ।
असारमा मात्र एक सय ६० जनालाई नयाँ, सात हजार आठ सय ६५ जनालाई पुनः, एक हजार दुई सय ३८ जनालाई व्यक्तिगत र दुई सय २९ जनालाई श्रम स्वीकृति नवीकरणमार्फत श्रम स्वीकृति प्रदान गरिएको छ । बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी श्रमिक नेपालका विभिन्न परियोजनामा काम गर्नका लागि आएको विभागका प्रवक्ता मणिनाथ गोपले बताए । श्रम ऐन २०४८ (संशोधन २०५४)ले दक्ष गैरनेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ । श्रम ऐन, २०४८ को दफा ४ (क)मा कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्न स्वीकृतिको लागि श्रम विभागमा निवदेन दिनसक्ने व्यवस्था गरिएको छ । दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा दुई वर्ष नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ । गैरनेपाली नागरिकलाई काममा लगाउने व्यस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नु पर्दछ । जसले गर्दा उनीहरू दक्ष हुनुको साथै नेपाली नागरिकलाई आफ्नो दक्षता समेत प्रदान गर्नुपर्नेछ ।
मुलुकमा सञ्चालित विभिन्न परियोजनाका लागि स्वदेशमा दक्ष जनशक्ति अभाव भएको खण्डमा मात्र विदेशबाट ल्याउनुपर्ने प्रवक्ता गोपले बताए । ‘मुलुकका विभिन्न परियोजनाको लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमा अभाव भएसँगै दक्ष गैरनेपाली नागरिक ल्याउने गरेको पाइन्छ’, प्रवक्ता गोपले भने, ‘जलविद्युत्, नागरिक उड्डयन, स्वास्थ्यलगायतका क्षेत्र तथा त्यसका परियोजनामा विदेशी दक्ष नागरिक आबद्ध हुनेगरेका छन्, जसमध्ये ठूलो संख्यामा इन्जिनियर छन् ।’
विभागका अनुसार पाँच दर्जनभन्दा बढी मुलुकबाट नेपाल आउने गरेका छन् । विशेषगरी सीमा जोडिएका चीन र भारतपछि विकसित मुलुकका दक्ष श्रमिकहरू समेत नेपाल आउन रुचि देखाउने गरेको देखिन्छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा चीन, भारत, जापान, जर्मनी, अमेरिका, केन्यालगायतका मुलुकबाट नेपालमा श्रम गर्न आउने गरेका छन् । पछिल्ला वर्षहरूमा सबैभन्दा धेरै संख्यामा चिनियाँ र बेलायती श्रमिक आएको पाइन्छ । विभागको तथ्यांकअनुसार सात हजार चार सय ४५ जना चिनियाँ, चार सय ८५ जना बेलायती, तीन सय १९ जना अमेरिकी, दुई सय २० जना भारतीय र दुई सय २१ जना दक्षिण कोरियाली दक्ष श्रमिक नेपालमा रहेका छन् ।
चिनियाँ सहयोगको परियोजना सञ्चालन भएको हुँदा चिनियाँ नागरिकको संख्या बढी भएको बताइएको छ । बेलायती, अमेरिकी र भारतीय दक्ष श्रमिकले पनि लामो समयदेखि श्रम स्वीकृति नवीकरण गरेर नेपालमा बसिरहेको पाइन्छ । विदेशी नागरिकहरू नेपालमा बस्न वा काम गरेर बस्न खोज्नुको कारण भने यहाँको शान्त, सुरक्षित वातावरण र सस्तो बसाइलाई प्रमुख कारण मानिन्छ । जसले गर्दा श्रम स्वीकृति तथा नवीकरण गरेर बस्नेको संख्या बढ्दै गएको छ भने उनीहरूले आफ्नो परिवार तथा साथीभाइलाई समेत बोलाउने गरेका छन् । विदेशी नागरिक नेपाल आई यहीँको नियममा रही काम गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै, विदेशी श्रमिक ल्याउनका लागि विभिन्न संस्थाहरू रहेका छन् भने मापदण्ड पुगेको खण्डमा उनीहरूलाई विभागले अनुमति दिने गरेको छ । विभागका अनुसार श्रमिक आपूर्तिकर्ता संस्थाहरू सात सयभन्दा बढी रहेका छन् । गत आर्थिक वर्षमा श्रमिक आपूर्तिकर्ता संस्थामध्ये ५२ वटालाई नयाँ इजाजत प्रदान र तीन सय ६१ वटाको नवीकरण गरिएको छ । ती संस्थाहरूले विदेशी श्रमिक ल्याउनका लागि सहजीकरण गर्नुका साथै श्रम स्वीकृति, टिकट व्यवस्थापनलगायतका काम गर्दै आएका छन् ।