काठमाडौं । त्रिदेशीय तस्करीको सञ्जालबाट नेपालमा ११ महिनाको अवधिमा २२ हजार दुई सय ७५ केजी शंकास्पद सामान आएको पाइएको छ । सोही शंकास्पद सामानमध्ये पछिल्लो समयमा बरामद सामानमा सुन भएको पुष्टि भएको छ । बरामद उक्त सुनको अनुपातमा यो अवधिमा आएको सामानमा १५ हजार केजीभन्दा बढी सुन भित्रिएको हुनसक्ने आशंका सुरक्षा स्रोतले गरेको छ ।
अहिलेको बजारमूल्यअनुसार उक्त सुनको मूल्य डेढ खर्ब रुपैयाँभन्दा बढी छ । छानबिनसँगै नयाँ तथ्यहरू खुल्दै र त्यसले कतै न कतै सत्ताधारी दल र प्रमुख प्रतिपक्षलाई छुन थालेकाले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणजस्तै पछिल्लो पटक चर्चाको शिखरमा रहेको सुन तस्करी प्रकरण पनि प्रमुख दलका शीर्ष नेतृत्वको गोप्य वार्तापछि सहमतिमा सामसुम हुने खतरा बढ्दै गएको छ ।
संगठितरूपमा हुँदै आएको त्रिदेशीय सुन तस्करीको जालो एकपछि अर्को गर्दै खुल्दै जाने क्रममा तस्करले हङकङबाट सन् २०२२ सेप्टेम्बरदेखि २०२३ जुलाईसम्म एकै प्रकृतिको २२ हजार केजीभन्दा बढी सामान भित्र्याएको पाइएको हो । साउन २ गतेदेखि ट्रेडर्स प्रालिका नाममा आएको एक सय ५५ केजी कार्गो भन्सार पास भएर निस्किएपछि सिनामंगलमा ट्याक्सीमा बरामद हुँदा एक क्विन्टल सुन भएको अनुमान गरिएको छ र उक्त घटनापछि गरिएको खोजबिनमा अन्तरदेशीय तस्कर समूहले झण्डै १० महिनाको अवधिमा नेपालका विभिन्न कम्पनीका नाममा २२ हजार केजीभन्दा बढी शंकास्पद सामान आयत गरेको पाइएको छ ।
पछिल्लो विवरणअनुसार हङकङबाट विभिन्न कम्पनीले २२ हजार दुई सय ७५ केजी शंकास्पद सामान आयात गरेका छन् । जहाँ सन् २०२२ सेप्टेम्बरदेखि २०२३ जुलाइ ३० सम्म हङकङबाट मात्रै यति ठूलो परिमाणमा भित्रिएको हो । आठ कम्पनी र संस्थाको नाममा भित्र्याइएका विभिन्न सामानले लगभग १५ हजार किलो सुन भएको संकेत गर्दछ । यही साउन २ गते बरामद भएको एक सय ५५ किलो सामानभित्र प्राप्त एक सय किलो सुन बरामद भएको औसतमा यति ठूलो परिमाणमा सुन भित्रिएको सहजै हिसाब देखिन्छ ।
रेडी ट्रेड प्रालिले सन् २०२३ मार्चमा दुई सय ७४ किलो, २०२३ अप्रिलमा ८७ किलो, २०२३ मेमा १४ सय ९० दशमलव पाँच किलो, २०२३ जुनमा दुई हजार ४१ किलो, २०२३ जुलाईमा २९ सय १८ किलो गरी जम्मा छ हजार आठ सय १० दशमलव पाँच किलो सामान भित्र्याएको पाइएको छ । सन् २०२३ मार्चदेखि २०२३ जुलाई १८ सम्म रेडी ट्रेडले मात्रै छ हजार आठ सय १० दशमलव पाँच किलो सामान भित्र्याएको छ । एक सय ५५ किलो बरामद भएको सामानका एक सय किलो सुन बरामद भएको थियो । यही सुन बरामद भएको अनुपातमा चार हजार चार सय ८० दशमलव ५९ किलो सुन भित्र्याएको हुन सक्छ । रेडी ट्रेडले धेरैजसो अटो पाट्र्स र दाह्री काट्ने सेभर मेसिन आयात गरेको पाइएको छ । त्यसैगरी दोलखा इलेक्ट्रिक सप्लायर्सले सन् २०२२ डिसेम्बरमा दुई सय ४० किलो, २०२३ जनवरीमा तीन सय ६९ किलो, २०२३ फेब्रुअरीमा दुई सय ३० किलो, २०२३ मार्चमा दुई हजार दुई सय ८६ किलो, २०२३ अप्रिलमा एक हजार तीन सय छ किलो, २०२३ मेमा तीन हजार चार सय ६८ किलो, २०२३ जुनमा दुई हजार दुई सय ३५ किलो, २०२३ जुलाईमा तीन हजार पाँच सय ५२ किलो गरी जम्मा १३ हजार छ सय २६ किलो सामान भित्र्याएको पाइएको छ ।
एक सय ५२ किलो सामान बरामदमा एक सय केजी सुन बरामद भएको अनुपातमा आठ हजार नौ सय ६४ दशमलव ४७ किलो सुन आएको आशंका गरिएको छ । सो कम्पनीको नाममा धेरैजसो -यापिङ मेसिन, जेनेरेटर, इलेक्ट्रिक घडी र डाइनामो भित्रिएको छ । अधिकांश सामान ली–हिमालय होटल, लाजिम्पाट र तुङग्राम इन्टरनेसनल एकेडेमी, हात्तीगौडामा पुगेको पाइएको छ ।
त्यसैगरी अर्को कम्पनी समन लजेस्टिक प्रालिले सन् २०२२ देखि २०२३ सम्म सात सय पाँच किलो तौलको ब्रेक सु र दाह्री काट्ने मेसिन आयात गरेको छ । विवरणअनुसार सन् २०२३ मार्चमा एक सय ९९ किलो, २०२३ अप्रिलमा एक सय १४ किलो, २०२३ मेमा एक सय ३३ किलो, २०२३ जुनमा ७६ किलो, २०२३ जुलाईमा एक सय ८३ किलो गरी जम्मा सात सय पाँच किलो सामान आयात गरेको देखिन्छ । साउन २ गते बरामद भएको एक सय ५५ किलो सामानमा एक सय किलो सुन बरामद हुँदा अनुपातमा चार सय ६३ दशमलव ८१ किलो सुन आयात भएको देखिन्छ । यस कम्पनीले जसो दाह्री काट्ने सेभर, मेसिन र अटो पाट्र्स भित्र्याएको पाइएको छ ।
त्यसैगरी चौथो कम्पनी सरिता इलेक्ट्रिक सप्लायर्सले २०२३को जुलाई १८ र १९ तारिखमा त्यस्तै शंकास्पद सामान भित्र्याएको पाइएको छ । उक्त कम्पनीले सन् २०२३ जुलाई १८ मा ४२ किलो र २०२३ जुलाई १९ मा २८ दशमलव पाँच किलो गरी जम्मा ७० दशमलव पाँच किलो सामान भित्र्याएको पाइएको छ । एक सय ५५ किलो बरामद गरेको सामानमा एक सय केजी सुन बरामद भएको अनुपातमा ४६ दशमलव ३८ किलो सुन आयात गरिएको देखिन्छ । उसले धेरैजसो इलेक्ट्रिक वाच आयात गरेको छ ।
माउन्ट एभरेस्ट ट्रेडर्सले पनि सन् २०२२–२०२३ सम्ममा हङकङकबाट त्यस्तै शंकास्पद सामान आयात गरेको छ । उक्त कम्पनीले सन् २०२२ अक्टोबरमा तीन सय नौ किलो, २०२२ नोभेम्बरमा तीन सय ९८ किलो र २०२२ डिसेम्बरमा दुई सय ५४ किलो गरी नौ सय ६१ किलो सामान आयात गरेका छ । माउन्ट एभरेष्ट ट्रेडर्सले आयात गरेको सामान र यही साउन २ गते बरामद भएको एक सय ५५ किलो सामानमा एक सय किलो सुन बरामद भएको अनुपातमा छ सय ३२ दशमलव २३ किलो यो कम्पनी भित्र्याएको देखिन्छ । उसले धेरैजसो सेभर, अटो पाट्र्स, इलेक्ट्रोनिक घडी आयात गरेको छ ।
त्यसैगरी शंकास्पद सामान आयात गर्ने अर्को कम्पनी ट्रान्स ग्लोबलले हङकङबाट २०२२ जनवरीमा मात्रै एक पटक सामान आयात गरेको देखिन्छ । त्यस मितिमा उसले एक सय दुई किलो सामान आयात गरेको थियो । जम्मा एक सय दुई किलो शंकास्पद सामान आयात भएको छ । एक सय ५५ केजी बरामद भएको सामानमा एक सय किलो सुन बरामद भएको अनुपातमा ६७ दशमलव १० केजी सुन आएको देखिन्छ । यो कम्पनीले धेरैजसो ब्याट्री आयात गरेको पाइएको छ । यी तथ्यलाई विश्लेषण गर्दा उल्लिखित कम्पनीहरूले हङकङबाट विभिन्न सामान आयात गर्दा करिब १५ हजार किलोसम्मको सुन भित्र्याएको हुनसक्ने आधार देखिएको छ ।
रेडी ट्रेडको नाममा हङकङबाट आएका सामान खोज्ने क्रममा राजस्व अनुसन्धान विभागको टोलीले गत १० गते सोरखुट्टे र लाजिम्पाटमा छापा मार्दा दुईवटा सुन गाल्ने मेसिनसहित ब्रेक सुको खाली खोक्रो मात्र भएको ६६ कार्टुन सामान बरामद गरेको थियो भने १३ गते टोखाको कृषि फार्ममा रहेको तस्करीको सुन गाल्ने कारखानामा छापा मार्दा सुनचाँदी गाल्ने मेसिन दुई थानसहित -यापिङ मेसिन इलेक्ट्रिक घडी, जेनेरेटर, पानी तान्ने पम्प, दारी काट्ने मेसिन (सेभर) र ब्याट्री बरामद गरेको थियो । बरामद भएका ती सबै सामानको बाहिरी आवरण (कंकाल) मात्र थियो र भित्री माग पूरै खोक्रो र खाली भेटिएपछि अनुसन्धानमा संलग्न अधिकारीहरूले ती सामानमा सुन हालेर ल्याइएको र यहाँ ल्याएपछि सुन निकालेर कंकाल मात्र गोदाममा फालिएको आशंका गरेका छन् ।
साउन २ गते एक सय ५५ केजी मासान बरामद हुँदा त्यसमा एक सय किलो सुन भएको अनुमान गरिएको बेला २६ हजार केजीभन्दा बढी आएको त्यही प्रकृतिको सामानमा कति सुन थियो होला र अहिले त्यो कहाँ छ भन्ने अनुमान लगाउन पनि मुस्किल हुँदै गएको छ । तर, हङकङबाट विभिन्न मितिमा नेपालका विभिन्न कम्पनीका नाममा एकै प्रकृतिका त्यस्ता सामान निर्बाधरूपमा निरन्तर आएको तथ्यांक भन्सार विभागमा छ । तर, विभागको नेतृत्व त्यसको गहिराइमा गएर छानबिन गर्न अग्रसर भएको पाइएको छैन । यसअघि २०७४ सालमा केरुङ नाकाबाट ८८ केजी सुन तस्करी भएर आएको अवस्थामा काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको थियो तर तत्कालीन केरुङ भन्सारप्रमुख केदार पनेरुलगायतको टोलीलाई नियन्त्रणमा लिएर छानबिन गर्नुपर्ने कुरा मिडियाले उठाए पनि त्यसलाई त्यति महत्व नै नदिई सामसुम पारिएको थियो । उक्त सुन भारतीय तस्कर नन्दकुमार पादुरङ मगरको भएको आशंका गरिएको थियो । तस्करले अर्को सहयोगी पक्षलाई कमिसन नदिएपछि प्रहरीलाई खबर गरेर पक्राउ गराएको थियो ।
२०६९ सालमा तत्कालीन एसएसपी रवीराज श्रेष्ठको साझेदारीमा मुरारीलाल गोयल जाल्मियाले गरेको डलर तस्करीको पनि ठोसरूपमा छानबिन नै नगरी सामसुम पारिएको थियो भने २०७४ सालमा गोरे भनिने चुडामणि उप्रेतीले कृष्णकुमार अग्रवाल, विमल पोद्दारलगायतको समूहसँग मिलेर गरेको ३३ किलो सुनको संगठित तस्करीको सम्बन्ध तत्कालीन कानुन मन्त्री अग्नि खरेलसँग ठोकिन पुगेपछि त्यत्तिकै सामसुम पारिएको थियो । उक्त काण्डका नाइके भनिएका गोरे भनिने चुडामणि उप्रेतिकी श्रीमती नर्वदा खरेल मन्त्री खरेलको बहिनी नाता परेपछि छानबिनले शिथिल मोड लिएको थियो ।
यस्तो दुर्भाग्यपूर्ण विरासत बोकेको अनुसन्धान र छानबिनको झारा टार्ने र जनताको आँखामा छारो हाल्ने विगतको परम्परा बनेको अवस्थामा यस पटक पनि प्रभावकारीरूपमा ठोस छानबिन हुने कुरामा ढुक्क हुन सकिने अवस्था छैन । तर, छानबिन नगरी नहुने जनस्तरको दबाब पनि विगतको भन्दा निकै कडा र सचेत हुँदै गएको छ ।
भन्सारका कर्मचारीले जानीजानी सुन छाडेको एक्सरेको रिपोर्टले देखाएको छ र भन्सारप्रमुख अरुण पोख्रेल र विमानस्थल प्रहरीप्रमुख अर्जुनचन्द ठकुरीलाई बिदामा पठाएर संगठितरूपमा सुन तस्करी गरिएको घटनाको छानबिन गर्न सरकार तयार नहुनुले सुन तस्करीको सम्बन्ध सत्तासँग प्रत्यक्ष जोडिएको आशंका गर्न थालिएको छ । अन्तरदेशीय जालो खडा गरेर गरिएको सुन तस्करीको छानबिन गर्न सरकार तयार हुने हो भने अहिले बरामद भएको एक सय ५५ केजी सामान र त्यसमा भएको आशंका गरिएको एक क्विन्टल सुन तस्करीको मात्र छानबिन हुने होइन, तस्करीको जरोसम्म पुग्न सक्ने हुन्छ । छानबिन गर्दा साउन २ गते बरामद आठ कार्टुन सामानबाहेक रेडी ट्रेडको नामबाट साउन १ गते छुटाएर लगेको १० कार्टुन र असार ३१ गते छुटाएर लगेको १५ कार्टुन सामानको पनि टुङ्गो लाग्नेछ र साउन १० गते रेडी ट्रेडको भनिएको ब्रेक सुको खाली खोकाले भरिएको ६६ कार्टुन सामानको बारेमा पनि टुङ्गो लाग्नेछ । यसको साथै हङकङबाट सन् २०२२ सेप्टेम्बरदेखि २०२३ जुलाईसम्म माथि उल्लिखित र बरामद भएकै प्रकृतिका २६ हजार किलोभन्दा बढी सामान दोलखा इलेक्ट्रिक्स सप्लायर्स, रेडी ट्रेड्स प्रालि, सरिता इलेक्ट्रिक सप्लायर्स, सनम लजिक्टिक्स सप्लायर्स, माउन्ट एभरेष्ट ट्रेडर्स, ट्रान्स ग्लोबल लजिस्टिक सप्लायर्स, होटल ली हिमालय र टुम्ग्राम इन्टरनेसनल एकेडेमीको नाममा शंकास्पद सामान आएको भेटिएको छ । यीमध्येका कुनै कम्पनीका नाममा हप्तामा तीन पटकसम्म पनि सामान आएको छ र यी सामानका पछाडि कार्गो व्यापारमा जोडिएका केही व्याक्तिले चलाखीपूर्वक सहयोग गर्दै आएको भेटिएको छ भने तिनका पछाडि एक चिनियाँ युवती रहेको पाइएको छ । होटलदेखि स्कुलसम्मको नाममा यसरी संगठित तवरले निर्बाधरूपमा एउटै कम्पनीले हङकङबाट सामान सप्लाइ गरिरहँदा पनि सरकारले देखेको नदेख्यै गरी आँखा चिम्लिएर बस्नुलाई सत्तास्वार्थको एउटा विकृत रूपमा लिएको छ । बेल्जिएम नागरिक दावा छिरिङ भनिने निमा लामाको सत्ताधारी नेताहरूसँग रहस्यमय सम्बन्ध र १४ गते उनको गिरफ्तारीपछि फेरिएको सुन तस्करीको अर्को मोड प्रभावकारी छानबिनविना टुङ्गोमा पुग्ने अवस्था देखिएको छैन ।