काठमाडौं । हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) र भुक्तानी सेवाप्रदायक कम्पनी इ–सेवाबीच सम्झौता भएको हो । लगानीकर्ताहरूले हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) बाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्टका लागि उक्त सम्झौता भएको इ–सेवाले जनाएको छ । सम्झौतामा हिमालयन ब्रोक्रेजका अध्यक्ष एवम् धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल र इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै लगानीकर्तालाई इ–सेवाको प्लेटफार्ममार्फत सेयर खरिदबिक्रीको सेटलेमेन्ट गर्न थप सहज हुने हिमालयनका अध्यक्ष सागर ढकालले बताए ।
‘हाम्रो उद्देश्य लगानीकर्तालाई सरल र सहजरूपमा सेवा प्रदान गर्ने हो,’ ढकालले भने, ‘सोहीअनुरूप इ–सेवाजस्तो भुक्तानी सेवासम्बन्धी ठूलो प्लेटफार्मसँग सेटलेन्ट सेवाका लागि सम्झौता गरेकोमा हामी खुसी छौ ।’ यस सम्झौतासँगै लगानीकर्ताले हिमालयन ब्रोक्रेजमार्फत खरिदबिक्री गरेको सेयरको सेटलेमन्ट इ–सेवाको प्लेटफार्ममार्फत गर्न सक्ने बताइएको छ । लगानीकर्तालाई सहजरूपमा सेवा दिनकै लागि हिमालयन ब्रोक्रेजले डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नवीकरण शुल्क नलाग्ने सुविधा ल्याएको थियो । अहिले मेरो सेयरको वार्षिक नवीकरण शुल्क एक सय ५० रुपैयाँ छ । तर हिमालयनले नेपालमै पहिलोपटक नौ सय ९९ रुपैयाँ तिरेर डिम्याट खाता खोलेपछि आजीवन नवीकरण शुल्क नलाग्ने अफर ल्याएको थियो ।