काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गरेर २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नको लागि कार्यालयमा निवेदन आएसँगै ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले बताएकोे छ । कार्यालयका अनुसार कालोसूचीमा राखिएको अवधिभर ती कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
कालोसूचीमा पर्नेहरूमा पप्पु कन्स्ट्रक्सन, कोशी एन्ड न्यौपाने निर्माण सेवा, नतासा निर्माण सेवा, त्रिवेणी निर्माण सेवा, समृद्ध निर्माण सेवा, नवनिर्माण बिल्डर्स, चेतना कन्स्ट्रक्सन, यूकेएन कन्स्ट्रक्सन, बीकेबी कन्स्ट्रक्सन, ब्लुबर्ड डिजाइन एन्ड कन्स्ट्रक्सन, बुढाथोकी निर्माण सेवा छन् । यसबाहेक, नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन, एके कन्स्ट्रक्सन, केआर निर्माण सेवा, माबोहाङ निर्माण सेवा, अर्भान कन्स्ट्रक्सन, लामाबुढा निर्माण तथा सामग्री सप्लायर्स, एक्सन बिल्डर्स, नुरी कन्स्ट्रक्सन, अन्जल निर्माण सेवा, अनुष्ठान कन्स्ट्रक्सन, युद्ध निर्माण सेवा र जय भगवती निर्माण सेवालाई कार्यालयले कालोसूचीमा राखेको हो । कालोसूचीमा राखिएको समयावधि एक वर्षदेखि डेढ वर्ष रहेको छ ।
कार्यालयका अनुसार सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाको सिफारिसमा पप्पु/कोशी एन्ड न्यौपाने जोइन्ट भेन्चर कम्पनीलाई एक वर्ष छ महिना र पूर्वाधार विकास कार्यालय ललितपुरको काम अलपत्र पार्ने नतासा निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन कार्यालयअन्तर्गत दाङको सिफारिसमा त्रिवेणी निर्माण सेवालाई एक वर्ष, भरतपुरको सिफारिसमा समृद्ध निर्माण सेवालाई एक वर्ष र भक्तपुरको काम अलपत्र पार्ने नवनिर्माण बिल्डर्सलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाको सिफारिसपछि कार्यालयले चेतना/यूकेएन जोइन्ट भेन्चर कम्पनीलाई कालोसूचीमा राखेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिन्धुलीको काम अलपत्र पारेपछि बीकेबी कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि, सन्धिखर्क नगरपालिकाको सिफारिसमा ब्लुबर्ड डिजाइन एन्ड कन्स्ट्रक्सनलाई एक वर्ष, सडक डिभिजन कार्यालय इलामको सिफारिसमा बुढाथोकी निर्माण सेवालाई एक वर्ष र सडक डिभिजन भरतपुरको सिफारिसमा तीन कम्पनी नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन र जय भगवती निर्माण सेवालाई एक÷एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
भरतपुर महानगरपालिकाको सिफारिसमा अर्भन कन्स्ट्रक्सन लिमिटेड, युद्ध निर्माण सेवा र अन्जल निर्माण सेवालाई एक वर्ष र अनुष्ठान कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । कार्यालयका अनुसार दोलखाको बिगु गाउँपालिकाको काम पूरा नगर्ने लामा बुद्ध निर्माण तथा सामग्री सप्लायर्स प्राइभेट लिमिटेडलाई डेढ वर्ष, तनहुँको व्यास नगरपालिकाको काम अपूरो छोड्ने एक्सन बिल्डर्स प्रालि एक वर्ष र बर्दियाको बारबर्दिया नगरपालिकाको काम अलपत्र पार्ने नुरी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।