काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र भारी वर्षात्का कारण डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “भारी वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।”
यसैगरी काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बाढीकै कारण काठमाडौँको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उपत्यकाका नदी अझै बढ्ने आँकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए ।