काठमाडौं । विभिन्न रेकर्डधारी बन्जी, स्विङ, स्काइ साइक्लिङलगायत एड्भेन्चर सञ्चालनमा ल्याएको द क्लिफले नयाँ एड्भेन्चर ‘वाल क्लाइम्बिङ’ सुरु गरेको छ । करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो ।
‘बिले गाइड’को मद्दतले वाल चड्न सकिन्छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ । आफ्ना पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई उत्कृष्ट एड्भेन्चर हब बनाउने उद्देश्यले वाल क्लाइम्बिङ थपिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । उनका अनुसार द क्लिफको ‘ब्रिज प्रवेश शुल्क’ पाँच सय तिरेपछि सोही टिकट देखाएरै पनि वाल क्लाइम्बिङ गर्न सकिन्छ । सो टिकटविना चड्नेले तीन सय रुपैयाँ शुल्क तिर्नुपर्छ । पोखराबाट मुस्ताङ जाँदा बाटैमा पर्ने क्लिफ जान अन्नपूर्ण बेसक्याम्पको गेटवे नयाँ पुलबाट १५ किलोमिटर पश्चिम यात्रा गर्नुपर्ने हुन्छ । पोखराबाट ५५ किलोमिटर दूरीमा रहेको सो ठाउँमा आफ्नो सवारीसाधन भए डेढ घण्टामा सहजै पुगिन्छ ।