काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाई समितिले सवैधानिक परिषदबाट नेपालको प्रधानन्यायाधीश पदमा सिफारिस भई संसदीय सुनुवाइका लागि आएको पत्रअनुसार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ससदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
समितिको मंगलबारको बैठकले उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सार्वजनिक सञ्चार माध्यममार्फत सूचना आह्वान गर्ने निर्णय गरेको छ ।
राससका अनुसार ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको समिति बैठकले सूचना वा उजुरीकर्ताले पत्रमार्फत वा आफै समिति सचिवालयमा उपस्थिति भई उजुरी दिनसक्ने व्यवस्था सहितको सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।
तोकिएको समयावधिभित्र उजुरी प्राप्त भएको खण्डमा ससदीय समितिले उहाँसग त्यसबारे जानकारी लिँदै संसदीय सुनुवाइ गर्नेछ । समिति समक्ष उनले प्रधानन्यायाधीश भएको खण्डमा आफूले अघि बढाउने कार्ययोजना, अनुभव, अवधारणा र सोच प्रस्तुत गर्नुहुनेछ । सुनुवाइ समितिले नाम अनुमोदन गरेको खण्डमा राष्ट्रपतिबाट उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने छन् ।
विस २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा गरेका श्रेष्ठ केही दिनयता कामु प्रधानन्यायाधीशमा कार्यरत छन् । विसं २०१६ असोज २० गते डोटीको सिलगढीमा जन्मिएका उनी वि.सं २०३८ मा अस्थायी शाखा अधिकृतरुपमा न्याय सेवामा प्रवेश गरेका थिए ।