काठमाडौं । नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको साझा संगठन (इफाप्का) को ४६ औँ सम्मेलनको तयारी औपचारिकरूपमा सुरु भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा शुक्रबार सम्पन्न प्रचारप्रसार उपसमितिको बैठकले सम्मेलनको तयारीका लागि प्रचारप्रसार तीव्र पार्नको लागि तयारी सुरु गरेको हो । उपसमिति संयोजक शिवहरि घिमिरेले बैठकले राष्ट्रिय दैनिक, टेलिभिजन, अनलाइनसहित सामाजिक सञ्जालमार्फत सम्मेलनको प्रचारप्रसार गर्ने, पर्यटन बोर्डसँग सहकार्य गर्ने, उपयुक्त स्थानमा डिजिटल डिस्प्ले बोर्ड राख्ने, सम्मेलनका लागि विशेष दूत (ब्राण्ड एम्बेस्डर) तोक्नेलगायतका निर्णयहरू गरेको जानकारी दिए ।
इफाप्काको ४६ औँ सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ । हाल नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नै इफाप्का अध्यक्ष रहेका छन् । इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, फिलपिन्स, मलेसिया, सिंगापुरलगायतका १८ देश आबद्ध रहेका छन् ।