काठमाडौं । बैंकिङ क्षेत्रमा औसतमा ३ दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा फाइनान्स कम्पनीहरूको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४८ खर्ब ५५ अर्ब ४२ करोड १० लाख रूपैयाँ पुग्दा औसतमा तीन दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो ।
यस अवधिमा सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंक (लक्ष्मी र सनराइज बैंक मर्ज भई एकीकृत कारोबार सुरु गर्नुअघि), क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम भने ५५ खर्ब ६९ अर्ब ६० करोड १० लाख रूपैयाँ पुगेको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेप तथा कर्जा खाता संख्या भने क्रमशः पाँच करोड छ लाख ६६ हजार दुई सय पाँच र १८ लाख ५५ हजार सात सय ८० रहेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले मात्र भने आर्थिक वर्ष २०७९/०८०को जेठ मसान्तसम्ममा ४९ खर्ब १० अर्ब ४३ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब ९७ अर्ब ८३ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यस अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप तथा कर्जा खाता संख्या भने क्रमशः चार करोड ३५ लाख ४६ हजार ३९ र १५ लाख २७ जार तीन सय ३५ पुगेको राष्ट्र बैंकको भनाइ छ ।
आव २०७९/०८०को जेठ मसान्तसम्ममा विकास बैंकहरूमा भने औसतमा ३ दशमलव ४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यस अवधिमा विकास बैंकहरूले पाँच खर्ब ४९ अर्ब ४१ करोड ३० लाख रूपैयाँ निक्षेप संकलन गरी चार खर्ब ६५ अर्ब २५ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा उक्त अनुपातमा कर्जा निष्क्रिय देखिएको राष्ट्र बैंकको भनाइ छ । विकास बैंकहरूमा कुल निक्षेप तथा कर्जा खाता संख्या भने पछिल्लो अवधिमा ६३ लाख ४५ हजार सात सय ९० र दुई लाख ८६ हजार आठ सय ३४ पुगेको राष्ट्र बैंकको भनाइ छ । फाइनान्स कम्पनीहरूमा भने औसत निष्क्रिय कर्जा ८ दशमलव १९ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुुसार फाइनान्स कम्पनीहरूले आव २०७९/०८०मा कुल एक खर्ब आठ अर्ब ७५ करोड ३० लाख रूपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ३३ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा उक्त अनुपातको कर्जा निष्क्रिय देखिएको हो । यस अवधिमा फाइनान्स कम्पनीहरूमा कायम रहेको कुल निक्षेप तथा कर्जा खाता संख्या भने क्रमशः सात लाख ७४ हजार तीन सय ७६ र ४१ हजार पाँच सय ९३ रहेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या भने छ हजार चार सय ३२ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार १५, विकास बैंकहरूको एक हजार एक सय ३० र फाइनान्स कम्पनीहरूको दुई सय ८७ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।