काठमाडौं । आन्दोलनरत निर्माण व्यवसायीले सडक र सिँचाइ विभागमा तालाबन्दी गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा निर्माण व्यवसायीले तेस्रो चरणको आन्दोलनअन्तर्गत आइतबार दुईवटा विभागमा तालाबन्दी गरेका हुन् ।
आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुसार महासंघले ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा नाराबाजीसहित धर्ना दिएर ताला लगाएका हुन् । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा ताला लगाएको थियो भने वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी) नेतृत्वको टोलीले सिँचाइ विभागमा ताला लगाएको थियो । महासंघका अनुसार सिँचाइ विभागमा ताला लगाउने क्रममा प्रहरीले हस्तक्षेप तथा धरपकड गरी वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी)सहित ४६ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ गरिएकालाई केही घण्टा जाउलाखेलस्थित ललितपुर प्रहरी परिसरमा राखिएको थियो । सडक विभागको भित्री कक्षमा ताला लगाएका व्यवसायीले मूल गेटअगाडि तीन घण्टा धर्नासहित नाराबाजी गर्दै व्यवसायीको माग पूरा गर्न सरकारसँग माग गरेका थिए ।
धर्ना कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले सरकारी उदासीनताका कारण निर्माण उद्योग धराशायी हुन लागेको बताए । ‘सरकारी संयन्त्रबीचकै समन्वय अभावका कारण निर्माण व्यवसायीले ठूलो मार खेप्नु परेको छ’ उनले भने ।