काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी प्रकरणमा सिटिजन्स बैंक इन्टरनेसनलमा कार्यरत आधा दर्जन कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बैंकमा कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत छ जना कर्मचारीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कर्मचारीउपर अनुसन्धान जारी रहेको र अझै केही कर्मचारी पक्राउ पर्न बाँकी रहेको जानकारी परिसरले दिएको छ । नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी प्रकरणमा परिसरले मनिषा मास्के, दिपेशकुमार झा, सुशान्त शर्मा, सुनिता भुषाल, गोमा पौड्याल ज्ञवाली, कल्पना खत्री, प्रतीक्षा रेग्मी, दिपक विष्ट, चेतबहादुर थापा र खिमानन्द गौतमलगायतलाई पक्राउ गरेको हो । यीमध्ये आधा दर्जन व्यक्तिहरू सिटिजन्स बैंकमा कार्यरत कर्मचारीहरू रहेको परिसर स्रोतको भनाइ छ ।
पक्राउ परेका व्यक्तिहरूको बीकम र बीबीएको शैक्षिक प्रमापत्र भारतको युनिभर्सिटी अफ दिल्ली, आईसी युनिभर्सिटी हिमाञ्चल प्रदेश, गुहाटी युनिभर्सिटीलगायतबाट जारी भएको देखिएको र ती सबै नक्कली देखिएको छ ।