राँझा (बाँके) । नेपालगन्जको समग्र विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन् । मंगलबार नेपालगन्जमा नेपाली कांग्रेस बाँकेले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएको हो । उनले भने, “म पनि नेपालगन्जवासी भएकाले यो सहरको विकासका लागि म दत्तचित्त भएर लाग्ने छु, तपाइँहरू पनि आ–आफ्नो स्थानबाट लाग्नुहोस् ।”
मुख्यमन्त्री चौधरीले नेपालगन्ज सहर पश्चिम नेपालकै केन्द्रविन्दुमा रहेको र लुम्बिनी प्रदेशको प्रमुख औद्योगिक सहरका रूपमा रहेको उल्लेख गर्दै नेपालगन्जको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । उनले बाँकेमा हुने गरेको राप्ती नदी, मानखोलालगायतका खोलाले गर्दै आएको कटान तथा डुबान न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक योजना बनाएको उल्लेख गरे ।
मुख्यमन्त्री चौधरीले भने, “म तपाईँहरूभन्दा बाहिर छैन, बाँके जिल्ला र समग्र प्रदेशको विकासका लागि के गर्दा राम्रो हुन्छ, तपाईँहरूले दिएको सुझावलाई मैले कार्यान्वयन गर्नेछु ।” नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कार्यक्रममा बाँके जिल्लामा हुने गरेको डुबान तथा कटान न्यूनीकरणमा विशेष पहल गरिदिन मुख्यमन्त्रीलाई अनुरोध गरेका थिए ।