ललितपुर । आन्तरिक राजस्व विभागले मंगलबार आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् । अर्थमन्त्री डा. महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्् ।
हामीलाई सकारात्मक दिशातर्फ जानुछ र जान सकिन्छ भन्ने धारणा हुनुपर्ने हो । तर सबैतिरबाट नकारात्मक मात्रै सोच राख्ने प्रवृत्ति देखियो । डा. महतले भने, “अर्थतन्त्र सुधारका लागि प्रयास भइरहेका छन् र सकारात्मक नतिजा पनि देखिँदै गएको छ ।”
निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भएको र सरकारले आन्तरिक उत्पादन बढाउने नीति लिँदा पनि निजी क्षेत्रले यसको लाभ लिन नसकेको उनको भनाइ छ । निजी क्षेत्रका छाता संस्था र तिनका पदाधिकारीले अर्थतन्त्रको अवस्थाबारे समान धारणा बनाउन आवश्यक रहेको भन्दै उनले यसका लागि सुझाव दिए ।
कर प्रणाली सुधारका लागि कर्मचारीको सम्पूर्ण ध्यान जानुपर्ने, करको दायरामा आउन नसकेका व्यवसायलाई करको दायरामा ल्याउन सक्नुपर्ने, करदातालाई सो सम्बन्धी शिक्षा दिनुपर्ने उनले विश्वास व्यक्त गरे । सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न जिम्मेवार भएर काम गर्न पनि अर्थमन्त्री महतले देशभरका राजस्व कार्यालयका कर्मचारीलाई निर्देशन दिए ।
सो अवसरमा प्रणालीगत विकास र कर्मचारीको क्षमता विकासमार्फत कर प्रणाली सुधार हुने अपेक्षा सरकारले गरेको अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले करको दरभन्दा पनि दायरा बढाउन सके सरकारले राखेको लक्ष्यअनुसार राजस्व उठ्ने बताए । अहिले पनि ठूलो सङ्ख्यामा व्यवसाय तथा व्यक्तिहरु कर प्रणाली बाहिर रहेकाले त्यसलाई समेट्न सक्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अहिले निजी क्षेत्रको मनोबल घटेकाले यसलाई उकास्न आवश्यक रहेको बताए । नेपालको राजस्व प्रणाली आयातमुखीभन्दा पनि उत्पादनमुखी हुनुपर्नेमा उनले जोड दिए ।