काठमाडौं । पछिल्लो पटक तस्करी भएर आएका सुन प्रकरणमा एउटा ठूलो राजनीतिक व्यक्तित्व जोडिएको विवरणहरू प्रकट भए । तर, तिनलाई जोगाउन खोजिँदा प्रहरीको अनुसन्धान नै लरबरिएको देखियो र के–के भए कारबाहीका लागि प्रमाण पुग्छ ? भनी प्रश्न सोध्नै पर्ने भयो ।
गएको असार अन्तिम र साउनको पहिलो गरी एक हप्ताका बीच एउटा नौ केजी र एउटा सय केजीका दुईवटा तस्करी प्रकरण प्रकट भए । यी दुवै घटना यतिबेला अनुसन्धानको उच्चतहमा रहेका बताइएको छ । पछिल्लो घाटनामा पनि उच्च राजनीतिक तह संलग्न भएका केही विवरणले देखाए तर त्यो संलग्नता पहिलोजति प्रस्टताका साथ खुल्न सकेको छैन । पहिलोमा टेलिफोन नम्बर र उनीहरूले वार्ता गरेको विवरण नै सार्वजनिक भइरहका छन् । तर, अनुसन्धान गर्ने निकायले त्यसलाई आधारभूत प्रमाण मानेर थप अनुसन्धानका लागि त्यो क्षेत्रसम्म पुग्न नखोजेको अवस्थाले नै आमतहमा उल्लिखित प्रश्न खडा भएको अवस्था छ ।
यो विवरण पहिलो चरणमा चुरोटको आवरणमा भएको तस्करीको हो जसमा एक जना पूर्वसभामुख, पूर्वउपप्रधान तथा अर्थ र गृहमन्त्री, सत्तारुढ दलका बहालवाला उपाध्यक्ष कृष्णबहादुर महरा र उनका दुई छोराकोे टेलिफोन नम्बर नै जोडिन आयो । प्रहरीकै रेकर्डमा आएअनुसार भन्सारमा उक्त सामान जफत भएपछि तस्कर भनेर चिनिएका एक विदेशीसँग मात्रै तीन सय संख्याको हाराहारीमा टेलिफोन वार्ता भएको देखियो । त्यति नै आधार हुँदा यही प्रकरणमा जोडिएका अरु नौ जना जेलमा छन्, यी तीन जना भने फुक्का–फाक्कै ।
पहिलो चरणको तस्करीको सुन प्रकरण सार्वजनिक भएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठसँग पुत्र राहुल महराले गरेको टेलिफोन वार्ताका सन्दर्भमा ती अधिकृतले दिएको भनी प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको बयानको एउटा अंश ‘...मिति २०७९/०९/१० गते बिहान ०७ः१० बजेदेखि अपराह्न १२ः०० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको यात्रु शाखाको प्रमुखको हैसियतमा ‘ड्युटी’मा खटिएको थिएँ । उक्त मितिमा चिनियाँ यात्रु ली हानसोङले लिई आएको ‘लगेज’मा ठूलो परिमाणमा इलेक्ट्रिक सिगरेट (भेप) रहेको भनी मलाई ड्युटीमा खटिएका नासु सुवर्णाप्रभा केसीले जानकारी गराएकी हुन् । अर्थ मन्त्रालयको मिति २०७७/०२/१५ को सूचनाको दफा ७ बमोजिम व्यापारिक प्रयोजनका लागि ल्याएका मालवस्तु यात्रु शाखाबाट जाँचपास गर्न नमिल्ने हुँदा जफत गर्नुपर्ने व्यवस्था रहेको र निज चिनियाँ यात्रुले एकै किसिमको मालवस्तु ठूलो परिमाणमा ल्याएको सम्बन्धमा तत्काल हेर्दा व्यापारिक प्रयोजनका लागि ल्याएको देखिएकाले जफतको निर्णय गरी रजिस्टरमा व्यहोरा चढाई एक प्रति जफतको निस्सा सम्बन्धित यात्रुलाई दिई उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत गरिएको हो । ..यसरी उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत गरी प्रमुख भन्सार अधिकृतको कार्यकक्षअगाडि राखेको २–३ दिनपछि भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले यात्रु शाखामा आई मलाई भेटी उक्त मालवस्तु तोकिएको राजस्व बुझी जाँचपास गरिदिनुप-यो भनी अनुरोध गरेका थिए, निजलाई मैले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको थिएँ । सोको भोलिपल्ट आफूलाई श्यामसुन्दर साह भनी चिनाउने व्यक्ति समेत यात्रुशाखामा आई मलाई भेटी उक्त इलेक्ट्रिक सिगरेट (भेप) जलविद्युत् आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगको लागि ल्याएको हुँदा राजस्व दाखिला गरी जाँचपास गरिदिनुप¥यो भनी अनुरोध गरेकामा मैले निजलाई समेत जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको थिएँ । तत्पश्चात् निज यात्रु शाखाबाट बाहिर निस्की गएकोमा केही समयपश्चात् ९८५१००८हहह नम्बरबाट मेरो मोबाइलमा समेत फोन गरी सोही कुरा दोहो¥याएकोमा मैले निजलाई जफत भएको मालवस्तु जाँचपास नहुने भनेको थिएँ । सोही विषयमा आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले ९८५११११हहह नम्बरबाट मेरो ९८५७०३५हहह नम्बरको मोबाइलमा फोन गरी जफत भएको उक्त इलेक्ट्रिक सिगरेट (भेप)को लिलामी प्रक्रिया के हो ? कसरी हुन्छ भनी सोधपुछ गरेकोमा मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ, लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गर्ने गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी गराएको थिएँ ।’
यो वस्तुमा यो रूपले चासो देखाउने अरु व्यक्ति तस्करीसँग जोडिएका भनेर अनुसन्धानका लागि यतिबेला हिरासतमा छन् । तर, यो ठाउँमा उही प्रकारले नाम ‘कोट’ भएका राहुल महराले भने प्रहरीसमक्ष सामान्य बयानसमेत दिनुपरेको छैन । कि भन्सार तिरेर छाडिदिन कि छिटो लिलामी गरिदिन राहुलले यस्तो सम्पर्क गरेका थिए । तर, यता भन्सारको नियममा चाहिँ सुर्तीजन्य वस्तु भएकाले नष्टै गर्नुपर्ने थियो । त्यसैलाई जोगाउन महरा बाबुछोराले भन्सार अधिकारी र तस्कर भनेर चिनिएका चिनियाँबीच बारम्बार टेलिफोन वार्ता गरेको हुनुपर्छ ।
यो वार्ता पनि कस्तो भने एक दिनमा पाँच पटकसम्म गरिएको रेकर्डले देखाएको छ । यो रेकर्ड पनि चानचुने होइन । पहरीले नै जिल्ला न्यायाधिवक्तामार्फत अदालतमा लगाएको अभियोजनपत्रमा नै उल्लेख भएको छ । यो अभियोजन विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करी सन्दर्भको हो जसमा पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको नाम किटानी भएको छ । यसको मूल सूत्र यो तस्करीमा जोडिएका चिनियाँसँग गरिएको टोलिफोन वार्ता नै हो ।
महराका तीन जना बाबुछोरा र हाल फरार रहेका ती चिनियाँसँग भएको टेलिफोन कुराकानी जुनसुकै बेला रेकर्डबाट हेर्न सकिन्छ । त्यही रेकर्डले देखाएअनुसार विमानस्थलमा रोकिएको करिब तीन महिनाको अवधिमा गिरोहसँग महराले छोरा निर्मलले चलाइरहेको मोबाइलबाट २२ पटक र राहुलले दुई सय ३४ पटक टेलिफोन संवाद गरेका थिए । यसैमा कुनै दिन त त्यो गिरोहसँग पाँच पटकसम्म वार्ता भएको पनि प्रहरीको उक्त अभियोजनपत्रमा उल्लेख भएको बताइएको छ ।
अभियोजनमा भनिएको छ, ‘सुन ल्याउने समूहमा रहेका चाइनिज नागरिक लुई, दाओजिन वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरासमेतको सम्पर्क कृष्णबहादुर महरा र मुक्तिप्रसाद श्रेष्ठसँग रहेको ‘निजहरूको सम्पर्क सुन बेचबिखन गर्ने समूहमा रहेका प्रतिवादीहरूसँग देखिन आएकोमा निजहरू फरक–फरक समूहमा रही आफ्नो आपराधिक जिम्मेवारीबमोजिम सम्पर्क स्थापित गरी नेपाल सरकारको गोदाममा रहेको दुई सुटकेसभित्र रहेका सात सय ३० थान भेप बेची संगठितरूपमा आपराधिक विश्वासघात गरेको झनै पुष्टि हुन्छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयबाट गएको माघमा हराएको भनिएको नौ किलो सुन प्रकरणमा जोडिएका अन्य नौ जनाविरुद्ध २७ असारमा आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । तर, प्रविधिले त्यसरी नै जोडिएको देखाइरहेका महरा परिवार भने त्यसको महिना बढी हुँदा पनि अनुसन्धानको घेरामा समेत पारिएको छैन । त्यसै कारण पनि सुन तस्करीसँग जोडिन के–के प्रमाण चाहिन्छ ? भनी आमतहमा प्रश्न गर्न थालिएको हुनुपर्छ ।
अरु नभए पनि कम्तीमा सुन ल्याउने चिनियाँ नागरिक लुई र कृष्णबहादुर महराबीच यो ९८५१८८८३८८ नम्बरबाट सुन आएर थन्किएको समयावधिमा २२ पटक सम्पर्क हुँदा के कुरा भएको थियो भनी सोध्न त सकिने थियो होला तर त्यतिसम्म नगर्दा नै यस्तो प्रश्न खडा भएको हुनुपर्छ ।