काठमाडौं, वैशाख १८
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रुकुममा कोरोना भाइरसको परीक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई सहयोग गरेको छ । उक्त पीपीई बैकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले रुकुमका कुमार कठायतलाई हस्तान्तरण गरेका हुन् ।
साथै बैंकले कोभिड १९ को रोकथामको लागि प्रत्येक प्रदेश सरकारलाई पाँच–पाँच लाख र संघीय सरकारलाई ५० लाख गरी कुल ८० लाख रुपैयाँ सहयोग गरिसकेको जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६५ करोड दुुई लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ४२ करोड ३० लाख पाँच हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५१ करोड ८१ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ६१ अर्ब २४ करोड ७८ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ५० करोड ७१ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५२ करोड ७८ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंक्मा एक दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले ६० अर्ब २७ करोड ६४ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९३ करोड ४१ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३३ करोड ९३ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।