चितवन । शव बोकेको जिपसहित चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिएपछि अनियन्त्रित भइ थप पाँच वटा मोटरसाइकल पनि ठोक्किएका थिए ।
दुर्घटनामा १८ जना घाइते भएका छन् र उनीहरुको उपचार भरतपुरका विभिन्न अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने बस चालक २६ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस दुर्घटनामा १२ जना घाइतेको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।