काठमाडौं । अनौपचारिक क्षेत्रका श्रमिकहरू समाजिक सुरक्षा योजनामा सहभागी हुन मासिक एक हजार नौ सय १२ रूपैयाँ योगदान गर्नुपर्छ । ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ बमोजिम अनौपचारिक क्षेत्रका श्रमिकहरूले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम अर्थात् न्यूनतम एक हजार नौ सय १२ रूपैयाँ मासिकरूपमा कोषमा योगदान गरी कोषबाट सञ्चालित विभिन्न योजनाहरूमा सहभागी हुन सक्नेछन् ।
अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिका लागि भने सामाजिक सुरक्षा योजनाअन्तर्गतका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनामा सहभागी हुन पाउनेछन् । यसैगरी उनीहरूले सुविधा प्राप्त गर्नका लागि भने घटना घटेको भन्दा अघिको १२ महिनामा कम्तीमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने तथा ६० वर्ष पूरा भएको र कम्तीमा एक सय ८० महिना योगदान गरेको हुनुपर्नेछ । साथै अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई आधा रकम भने पालिकाले व्यहोनु पर्नेछ यसका लागि श्रमिकले समन्वय गर्नुपर्ने बताइएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्न स्याङ्जाको फेँदीखोला र मकवानपुरको भीमफेदी गाउँपालिकासँग कोषले सम्झौता गरिसकेको छ ।
वैदेशिक रोजगारमा रहेको वा विदेशमा स्वरोजगारमा रहेका नेपाली नागरिकले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम दुई हजार रूपैयाँ मासिकरूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् । त्यसरी सहभागी भएपछि उनीहरूले योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा सात दशमलव ४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३ दशमलव ८५ प्रतिशतले बाँडफाँट गरिने बताइएको छ । उक्त सुविधा प्राप्त गर्नको लागि वैदेशिक रोजगारमा रहेका वा विदेशमा स्वरोजगारमा रहेका योगदानकर्ताले घटना घटेको मितिभन्दा अघिको १२ महिनामा कम्तीमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्नेछ । साथै, निवृत्तभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुनआउने कुल योगदान रकम एकमुष्ट लिने वा सो रकमलाई एक सय ६० ले भाग गर्दा हुनआउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण लिनेमध्ये कुनै एउटा विकल्पको छनौट गर्नसक्ने व्यवस्था गरिएको छ ।
यसैगरी स्वरोजगारमा रहेका व्यक्तिहरूले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत अर्थात् न्यूनतम दुई हजार नौ सय नौ रूपैयाँ ३५ पैसाका दरले अधिकतम यसको तीन गुणासम्म कोषमा योगदान गरी कार्यविधिबमोजिमको सुविधा उपभोग गर्नसक्ने व्यवस्था रहेको छ ।
कार्यविधिले उनीहरूले नियमितरूपमा योगदान गरेको खण्डमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनालगायतका सुविधाहरू कोषले प्रदान गर्नेछ । जसले गर्दा हरेक प्रकारका श्रमिक तथा मुलुकभित्र र बाहिर रहेका स्वरोजगार व्यक्तिहरू आर्थिक अवस्था कमजोर भएको खण्डमा समेत ती सेवाबाट लभान्वित हुन सहयोग पुग्नेछ ।