महेन्द्रनगर (धनुषा) । नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
बिहीबार मधेस प्रदेश नेपाली कांग्रेस कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने धारणा राखे।
डा. महतले प्रतिपक्ष दलले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि विरोध गर्ने अधिकार राख्ने भए पनि नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद्लाई गतिहीन बनाउने अधिकार कसैलाई नभएको जिकिर गरे ।
संसद्मा गतिरोध उत्पन्न गरिएका कारण संसद्मा लैजानका लागि तयार गरिएका विभिन्न विधेयकलाई पनि संसद्मा लैजान नसकिएको र कैयौँ महत्वपूर्ण विषयवस्तु र कानुन निर्माणका विषयमा छलफल गर्न नसकिएको मन्त्री डा महतले बताए ।
मन्त्री महतले आर्थिक स्रोत पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्तमात्रामा बजेट विनियोजन गर्न नसकिएको जानकारी गराएका हुन् । कांग्रेस प्रवक्ता डा. महत नेपाली कांग्रेस सिरहाको सम्मेलनमा सहभागी हुन बिहीबार यहाँ आएका हुन् ।