अमेरिका, वैशाख १८
अमेरिकी विमान निर्माता बोइङले रोजगारी कटौती गर्ने भएको छ । कम्पनीले पहिलो त्रैमासिकमा घाटा व्यहोर्ने स्थितिमा पुगेपछि उक्त निर्णय गरेको अमेरिकी केबल न्युज नेटवर्कले जनाएको छ । विश्व महामारी कोरोनाभाइरसका कारण विश्वकै पर्यटन, हवाइ, होटल क्षेत्रहरु नराम्ररी प्रभावित भइराख्दा बोइङको निर्णय बाहिरिएको हो । यात्रा प्रतिबन्धका कारण विश्व हवाइ क्षेत्र ठप्पप्रायः बनेका छन् । ७३७ म्याक्स जेटका दुई दुर्घटनाका कारण आलोचित बनिरहँदा बोइङले महामारीको समेत सामना गरेको छ । कम्पनीले कुलमध्ये १० प्रतिशत रोजगारी कटौती गर्नेछ ।
खासगरी यसको असर बोइङको व्यावसायिक विमान युनिटमा पर्नेछ । जहाँ १५ प्रतिशत रोजगारी गुम्नेछ । यसैबीच कम्पनीले ७८७ ड्रिमलाइनर र ७७७ सिरिजका विमानहरु पुनः उत्पादन गर्ने भएको छ । माग बढेको कारण यसो गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना मुख्य आम्दानी क्षेत्रबाट १ अर्ब ७० करोड डलर गुमाइसकेको छ । म्यासजेट विमानहरु महामारीअघि नै ग्राउन्डेड हुँदा यसको असर समेत कम्पनीलाई परेको छ ।