काठमाडौँ । भुक्तानी सेवा प्रदायक संस्था इ–सेवाबाट भोले गणेश सेक्युरिटिज लिमिटेडमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै भोले गणेश सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि इ–सेवामार्फत गर्न सकिन्छ । यस सम्झौताले लगानीकर्तालाई भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१)बाट गरेको सेयर खरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ ।
अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इ–सेवाको तर्फबाट प्रमुख प्रबन्धक (चिफ मेनेजर) आशीष गौतम र भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) का डेपुटी सीईओ हरी भण्डारी तथा महाप्रबन्धक (जेनेरल मेनेजर) अन्जिब तुलाधरले हस्ताक्षर गरे । हाल इ–सेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्षरूपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।
इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानीलगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।