दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा लम्पी स्किन रोगका कारण ८५ वटा पशु मरेका छन् । कुल १६ सय पशुमा रोग संक्रमण हुँदा ८५ वटा पशु मरेका हुन् । लम्पी स्किनरोगले यस पालिकामा २ सय १६ गाई संक्रमण भएका छन् भने संक्रमणका कारण १९ वटा गाई मरेको बैतेश्वर गाउँपालिकाले जनाएको छ्। त्यसैगरी ८ सय ६३ वटा गोरुमा रोग संक्रमण हुँदा ४९ वटा गोरु रोगका कारण मरेका छन् । त्यसैगरी ५ सय ११ वटा बाच्छावाच्छी र पाडापाडीमा रोग संक्रमण हुँदा २५ वटा मरेका छन् । भैंसी १० वटा संक्रमण भएका छन् ।
रोगका कारण हालसम्म भैंसी नमरेको गाउँपालिकाको भदौ २ गतेसम्मको तथ्यांकमा उल्लेख गरिएको छ । बैतेश्वर गाउँपालिका लम्पी स्किन रोगका कारण संक्रमण भएर बिरामी पशुहरुको संख्या ५ सय ३६ वटा रहेको छ । जस्मा सक्रिय बिरामी हुने पशुहरुमा गाई ८३ वटा,गोरु ४ सय ९ वटा ,भैंसी ५ वटा ,बाच्छाबाच्छी र पाडापाडी ३९ वटा रहेका छन् । संक्रमण मुक्त पशुहरुको संख्या ९ सय ६७ वटा रहेको छ् भने, हालसम्म खोप लगाइएको पशुको संख्या २ सय १३ रहेको बैतेश्वर गाउँपालिका पशु प्राविधिक अधिकृत शान्ति प्रसाद दाहालले जानकारी दिए ।
बैतेश्वर गाउँपालिकाले रोग प्रभावित क्षेत्र र किसानलाई लक्ष्यित गरी गत असार देखी खोप अभियान तथा औसधि वितरण कार्यक्रम गरेर हालसम्म ९ भन्दा बढी पशुको उपचार गर्न सफल भएको उनले बताए ।त्यस्तै खोप नपुगेका क्षेत्रमा पुनः खोप लगाउन वडागत रूपमा तथ्यांक संकलन गरिरहेकोले थप संक्रमण तथा प्रभावित क्षेत्रका पशुलाई खोप लगाउन गाउँपालिका अध्यक्ष छबि लामाले निर्देश दिसकेकाले पुनः खोप तथा औसधि खरिद गरेर वितरण गर्ने तयारी थालिएको पशु अधिकृत दाहालले जानकारी दिए ।