काठमाडौँ । आफ्ना पार्टीका नेताहरुको प्रदेश र विभागको जिम्मेवारी जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकेको छ । सो पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकेको सो पार्टीका प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र ई देवनारायण यादव रहेको केन्द्रीय कार्यालय समितिसमेत गठन गरेको छ ।
यसैगरी सङ्गठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ भने विभागका सदस्यमा रेणु यादव र लाक्पा शेर्पा रहेका छन् । सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिषकुमार सुमन तथा सदस्यमा लक्ष्मण हुमागाईं र योगराज वनेम चयन भएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।