काठमाडौं । प्राइम कमर्सियल बैंक विशुद्धरूपमा स्वदेशी लगानीकर्ताहरूद्वारा प्रवर्द्धित बैंक हो । यो बैंकको कुल कारोबार हिस्सामध्ये धेरैजसो काठमाडौंको न्युरोड क्षेत्रबाट हुनेगरेको छ । न्युरोड क्षेत्रका धेरैजसो साना तथा ठूला व्यवसायी एवं सो क्षेत्रका अधिकांश स्थानीयबासीहरूको खाता प्राइम कमर्सियल बैंकमा छ ।
आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरणलाई आधार मान्दा प्राइमले १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय १६ रूपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यस अवधिमा बैंकले एक खर्ब ७४ अर्ब पाँच करोड ८० लाख ३६ हजार छ सय ७४ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५४ अर्ब ४७ करोड ५३ लाख ९१ हजार सात सय ७९ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा सात अर्ब २७ करोड ९७ लाख ४३ हजार सात सय एक रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव २३ प्रतिशत कर्जा खराब रहेको छ । प्राइमले दुई अर्ब २६ करोड ३१ लाख ५४ हजार ८७ रूपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले दुई अर्ब ७८ करोड ७३ लाख ३६ हजार तीन सय ४७ रूपैयाँ खुद मुनाफा कमाएको थियो भने खराब कर्जा एक दशमलव ७७ प्रतिशत मात्र थियो ।
प्राइम कमर्सियल बैंकमा अहिले प्रमुख कार्यकारी अधिकृत छैनन् । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल सकिएपछि निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरको व्यवस्थापकीय नेतृत्वमा बैंक सञ्चालन भइरहेको छ । प्राइम कमर्सियल बैंकप्रति ग्राहकको विश्वास, बैंकको वित्तीय अवस्था, वित्तीय पहुँच सबै लगभग ठीकठाक छन् । तर पनि यो बैंक गत आर्थिक वर्षमा तीन पटक नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट कारबाहीमा परेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई कारबाही स्वरूप सचेत गराएको थियो । जसको प्रमुख कारण नेपाल राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरूमा कारोबार गराउनु थियो । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा पनि प्राइम बैंक राष्ट्र बैंकको कारबाहीमा प-यो । यो पटक राष्ट्र बैंकले प्राइमलाई ५० लाख रूपैयाँ जरिबाना तिराएको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकाले ५० लाख रूपैयाँ जरिबाना तिराइएको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्षको तेस्रो त्रैमास भने प्राइमलाई अलि सहज भयो । किनकि यो त्रैमासमा प्राइमलाई राष्ट्र बैंकबाट कुनै कारबाही भएन । तर, चौथो त्रैमासमा प्राइम बैंक फेरि कारबाहीमा प-यो । बैंकको स्थापनाकालदेखि नै अर्थात् सन् २००७ सेप्टेम्बरदेखि नै बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर कार्यकाल सकेर बिदा भए भने जाँदाजाँदै राष्ट्र बैंकको कारबाहीमा परे । आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा राष्ट्र बैंकले प्राइम बैंकका सीईओलाई सचेत गराउने काम गरेको छ । यस पटक प्राइम बैंकले आफ्ना ऋणीको प्रिमियम चलाएर ब्याजदर बढाइदिएको थियो । राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा. नं १५/०७९ को व्यवस्थाविपरीत प्रियमम दर बढाई ब्याज असुल गरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको थियो ।