काठमाडौँ । पुल्चोकस्थित मन्त्री निवास पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा समवेदनासमेत प्रकट गरेका छन् । मन्त्री किरातीका बुवाको पार्थिव शरीर आजै पुर्ख्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ ।
यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सहरी विकासमन्त्री सीता गुरुङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीलगायत मन्त्रीले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।