काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाडौं लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भई ग्लोबल आईएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिकरूपमा शुभारम्भ भएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरेका हुन् । एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले मर्चेन्ट बैंकर कम्पनीले निष्काशन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताको रूपमा कार्य गर्दा संस्थागत दायित्व समेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेकोतर्फ जोड दिँदै बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहम् भूमिका हुने भएकाले संस्थागत सुशासनसहित प्रभावकारी सेवा प्रवाहमा लाग्न मर्चेन्ट बैंकरहरूलाई आग्रह गरे । साथै, नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो अभिभावकीय भूमिका समेत खेल्दै मर्चेन्ट बैंकरहरू बजार विस्तारका सम्बन्धमा नयाँ वित्तीय औजारका लागि एक कदम अगाडि बढेकोमा बोर्ड दुई कदम अगाडि बढ्न तयार रहेको धारणा व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पुँजीका आधारमा दोस्रो ठूलो कम्पनीको रूपमा स्थापित भएकोमा सोहीअनुरूप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गदै अगाडि बढ्न सुझाव दिए । ढकालले नियामकीय निकाय नेपाल धितोपत्र बोर्डलाई मर्चेन्ट बैंकरहरूले हाल गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ध्यानाकर्षण समेत गराए ।