बारा, बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।
मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह रहेका डिएसपी न्यौपानेले बताए। बाँकी चार जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा तीन नेपाली तथा १४ भारतीय नागरिक घाइते भएका छन् । उनीहरु पशुपतिनाथको दर्शन गरी फर्किदै थिए । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा ४ जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए। घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।