दोलखा, वैशाख १९
लकडाउनका कारण एक महिनादेखि बन्द भएका दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र जोखिम न्यूनीकरण जिल्ला समन्वय समितिले निर्देशन दिएको छ । दोलखा जिल्लाभित्र रहेका बैंकको सेवालाई नियमित रुपमा सुचारु गर्न निर्देशन दिइएको हो । दोलखा सदरमुकाम चरीकोटमा गत मंगलबार बसेको जिल्ला प्रशासन र कोभिड –१९ जोखिम न्यूनीकरण जिल्ला समन्वय समितिको बैठकले सबै बैंकहरुलाई नियमित रुपमा सुचारु गर्न निर्देशन दिएको हो । सरकारले लकडाउनको अवधिमा बैंकले नियमित सेवा दिनुपर्ने उल्लेख गरेको पनि दोलखामा रहेका बैंकहरुले विभिन्न बहाना बनाउँदै नियमित बैंकको सुचारु नगर्दा सेवाग्राहीले आर्थिक संकट र मर्का भोग्दै आएका छन् ।
बैठकले कृषि सामग्री, मल, बीउ तथा विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री ढुवानीलाई भने सहज बनाउने निर्णय गरेको छ । जिल्लास्थित स्थानीय तहका प्रमुख तथा सरोकारवालाहरुसहितको सहभागितामा सम्पन्न भएको बैठकले जिल्लाभित्र विकास निर्माणकार्यको ढुवानीका लागि सवारी पास स्थानीय तहले व्यवस्था गर्ने र जिल्लाबाहिरका सवारी पासको लागि जिल्ला प्रशासन कार्यालयले व्यवस्था गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले जिल्ला भित्रिने सवारीसाधनहरुलाई डिसइन्फेक्सन छर्किने निर्णय गरेको छ ।