काठमाडौं । कांग्रेस नेता स्व. डा. राजाराम कार्कीको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बुधबार साँझ उपचारका क्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभाका पूर्वसदस्य डा. कार्कीको वीर अस्पतालमा निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जलीका लागि बिहीबार बिहान ९ बजेदेखि ११ः३० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्व. कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन् । कार्की धादिङ नीलकण्ठ नगरपालिका निवासी हुन् ।
श्रद्धाञ्जली सभामा कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य, जिल्ला सभापति एवं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
वि.सं. २०३० मा पार्टी प्रतिबन्धित भएको समयमा नेपाल विद्यार्थी सङ्घ धादिङको जिल्ला अध्यक्ष बनेका डा. कार्की वि.सं. २०३७ मा नेविसङ्घ महाराजगञ्ज क्याम्पसको अध्यक्ष बनेका थिए । कार्की अघिल्लो कार्यकालमा बागमती प्रदेशमा सांसद बनेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।