काठमाडौं, वैशाख १९
एनआईसी एसिया बैंकले कोरोना बीमालेख खरिद गर्न सकिने नयाँ पोर्टल सार्वजनिक गरेको छ । बैंकले असहज परिस्थितिका बीच भौतिकरूपमा बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाइ हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै ग्राहकहरूको सुविधाको लागि नयाँ पोर्टल सुरु गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार यो पोर्टलमार्फत बैंकको मोबाइल बैकिङ एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एनआईसी एसियाको मोबाइल बैकिङ वा इन्टरनेट बैंकिङबाट भुक्तानी गरी ग्राहकहरूले यो लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् । सहज तथा सरल बैकिङको अंगीकार गरेको एनआईसी एसियाले आफ्ना ग्राहकहरूलाई यस्तो विपत्तिको बेलामा सहज तरिकाले बीमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । यसअन्तर्गत पहिलो श्रेणीको बीमालेख एक लाख रूपैयाँ र दोस्रो श्रेणीको बीमालेख ५० हजार रूपैयाँ रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः एक हजार रूपैयाँ र पाँच सय रूपैयाँ लाग्ने बैंकले जानकारी दिएको छ । पारिवारिक वा संस्थागतरूपमा बीमा गर्नुपरेमा प्रतिव्यक्ति क्रमशः छ सय रूपैयाँ र तीन सय सय रूपैयाँमा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।