काठमाडौं, वैशाख १९
सनराइज बैंकले भक्तपुरको थिमीस्थित मध्यपुर हस्पिटल र श्री मेमोरियल हस्पिटल बनेपालाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सामग्री सहयोग गरेको हो । विश्वरभर हाल कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि बैंकले सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । यसअन्तर्गत प्रतिहस्पिटल १२ थान पीपीई र दुुई हजार पाँच सय थान मास्क उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार उक्त सामग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मध्यपुर हस्पिटलका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र मेमोरियल हस्पिटलका निर्देशक डा. शिवजीविक्रम सिलवाललाई हस्तान्तरण गरेका हुुन् । यो समेत गरी बैंकले हालसम्म देशभरका विभिन्न अस्पतालमा पाँच सय ५० वटाभन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराइसकेको जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९४ करोड ४३ लाख ८८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ७९ करोड २४ लाख ४५ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ८२ अर्ब १५ करोड ५८ लाख १४ हजार रूपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ५८ करोड ७८ लाख ५३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब चार करोड ७४ लाख ३६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने भने वितरणयोग्य नाफा ५१ करोड ९० लाख ३८ हजार रूपैयाँ छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७५ अर्ब ४३ करोड २१ लाख ५१ हजार रूपैयाँ निक्षेप संंकलन गरी ६८ अर्ब ८६ करोड ५८ लाख १० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ७२ करोड १४ लाख नौ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।