काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) १० अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्न लागेको छ । सरकारका लागि आन्तरिक ऋण उठाउने उद्देश्यले राष्ट्र बैंकले छ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८६’ बिक्रीमा ल्याएको हो । यो विकास ऋणपत्र चालू आर्थिक वर्ष सुरु भएयता जारी भएको तेस्रो हो ।
ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैङ्कि संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमा सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले यसअघि साउन २८ गते १० अर्ब रुपैयाँको आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८’ र साउन १८ गते छ वर्ष अवधिको १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८६’ बिक्री गरेको थियो ।
आइतबार बोलकबोल गर्न लागेको विकास ऋणपत्र २०८० भदौ ११ गते निष्काशन हुनेछ भने २०८६ भदौ ११ गते परिपक्व हुनेछ । यो ऋणपत्र बिक्री गरेलगत्तै भदौ २४ गते पनि राष्ट्र बैंकले छ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको अर्को विकास ऋणपत्र बिक्री गर्ने तालिका छ ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिकरूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने छ ।
ऋणपत्र खरिद गर्न इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी हुन सक्ने छन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिकरूपमा ऋणपत्रको रकम बाँडफाँट गरिने छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्म तोकिएको छ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन पाउने छन् । बैंक तथा वित्तीय संस्थाले भने अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।
राष्ट्र बैकले चालू आर्थिक वर्षमा सरकारका लागि कुल दुुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ । सोहीअनुरूप राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन अवधिका ट्रेजरी बिलहरू, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक उपकरणहरू बिक्री गर्ने तयारी गरेको छ । यसरी बिक्री गरिने कुल मौद्रिक उपकरणमध्ये ७४ दशमलव छ प्रतिशत हिस्सा ऋणपत्रको छ । सोअनुसार २०८१ असार मसान्तसम्म एक खर्ब ७९ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री हुने छ । जसमध्ये पहिलो त्रैमासमा ५० अर्ब, दोस्रो त्रैमासमा ४५ अर्ब, तेस्रो त्रैमासमा ३५ अर्ब र चौथौ त्रैमासमा ४९ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने राष्ट्र बैंकको तालिका छ ।