लन्डन, वैशाख १९
युरोपेली अर्थतन्त्रमा पनि विश्व महामारी कोरोनाभाइरसको असर देखिनथालेको छ । चालू वर्षको पहिलो त्रैमासिकमा यस क्षेत्रको अर्थतन्त्र ३.८ प्रतिशतले खुम्चिएको बीबीसीले जनाएको छ । यो वित्तीय संकटयताकै खराब भएको बताइएको छ । देशगत रुपमा फ्रान्स र स्पेनको अर्थतन्त्र पनि उक्त अवधिमा खराब स्थितिमा पुगेको छ । जर्मनीमा बेरोजगारी ह्वात्तै बढे पनि तुलनात्मक रुपमा अरु देशभन्दा केही राम्रो रहेको छ । फ्रान्समा कुल गार्हस्थ्य उत्पादन ५.८ प्रतिशतले घटेको छ ।
त्यस्तै स्पेनको ५.१ प्रतिशतले घटेको र इटालीको अर्थतन्त्र ४.७ प्रतिशतले ओरालो लागेको छ । हालसम्म सबै युरोपेली देशहरुले तथ्यांक सार्वजनिक गरिसकेका छैनन् । यस क्षेत्रकै ठूलो अर्थतन्त्र जर्मनीको श्रमबजार महामारीको असर देखिनथालिसकेको छ । अप्रिलमा मात्रै जर्मनमा ३ लाख ७३ हजारले बेरोजगारी भएको बताएका थिए ।
युरोपेली केन्द्रीय बैंककी प्रमुख क्रिस्टिन लेगार्डेले दोस्रो त्रैमासिकमा यस क्षेत्रको अर्थतन्त्र अझै बिग्रिने बताएकी छिन् । उनले यस क्षेत्रको चालू वर्षको आर्थिक वृद्धिदर ५ देखि १२ प्रतिशतको बीचमा रहने भन्दै सम्बन्धित देशलाई नीतिगत सुधारका लागि आग्रह गरेकी छिन् । ईसीबीले पनि आकस्मिक राहतका कदम चाल्न तत्पर रहेको उनको भनाइ छ ।