काठमाडौं, बहुचर्चित नागढुंगा सुरुङ्गमार्गको मुख्य सुरुङ्ग अर्थात गाडी गुड्ने सुरुङ्ग छेड्न अब चार सय ५६ मीटर मात्र बाँकी रहेको छ । नागढुंगा सुरुङ्ग निर्माण योजनाले आइतबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार कुल दुई हजार छ सय ८८ मीटर लामो गाडी गुड्ने सुरुङ्ग मध्ये दुई हजार दुई सय ३२ दशमलव २० मीटर खन्ने काम पूरा भएको छ । उक्त प्रगति विवरण पनि अगस्त २४ अर्थात गत विहीबारको हो । उक्त विवरण योजनाले आइतबार मात्र सार्वजनिक गरेको हो ।
सुरुङ्गमार्ग योजनाका अनुसार सुरुङ्गको पूर्वतर्फबाट नौ सय ९८ दशमलव ८० मीटर र पश्चिम तर्फबाट एक हजार दुई सय ३३ दशमलव ४० मीटर खनिएको छ । खनिएको २२ सय ३२ दशमलव २० मीटर मध्ये एघार सय ६८ दशमलव ५५ मीटरको काम फाइनल गरिएको छ ।योजनाले सहायक सुरुङ्गमार्ग भने साउन २२ गते नै खनिसकेको छ । सहायक सुरुङ्गमार्गको कूल लम्बाई २५ सय ५७ मीटर लामो छ । उक्त सुरुङ्गबाट अहिले मुख्य सुरुङ्ग खन्दा निकालिएको माटो, ढुंगा निकाल्ने र मुख्य सुरुङको फिनिसिङ्गका लागि आवश्यक पर्ने सामान लैजाने गरिएको छ । पछि सो सुरुङ उद्दार तथा आपतकालीन कार्यका लागि प्रयोग गरिनेछ ।
योजनाले एक सय २८ मीटर नै क्रसपास पनि खनिसकेको छ ।योजना प्रमुख नविनमान श्रेष्ठका अनुसार सुरुङ्गमार्गको भौतिक प्रगति ५९ प्रतिशत र आर्थिक प्रगति ५५ प्रतिशत भन्दा बढी भएको छ । दैनिक करिब आठ÷नौ मीटरको दरले सुरुङ्गमार्ग खन्न सकिएमा करिब दुई महिनामा मुख्य सुरुङको छेडिने आयोजनाका एक ईन्जिनियरले जानकाी दिए । तर, दैनिक कति सुरुङ्ग खन्न सकिन्छ भन्ने बारेमा भित्रको अवस्था हेरेर मात्र निक्र्यौल गर्न सकिन्छ । कडा चट्टान भेटिएको अवस्थामा छिटो र माटो मात्र भेटिएमा यति समय लाग्छ भनेर अनुमान नै लगाउन नसकिने ती ईन्जिनियरले जानकारी दिए ।
उक्त सुरुङ्गमार्ग नै नेपालको पहिलो मोटरेबल आधुनिक सुरुङ्गमार्ग हुनेछ । यो सुरुङ्गमार्ग निर्माणले नागढुंगा उकालोमा हुने गाडी जामलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । यो सुरुङ्गमार्गको निर्माण जापान सरकारको ऋण सहयोगमा भैरहेको हो ।