काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमद्वारा हुने कुनै पनि किसिमको नगद कारोबारलाई सुरक्षित बनाउन निर्देशन दिएको छ । आइतबार भुक्तानीसम्बन्धी कारोबार गर्ने अनुमतिप्राप्त सबै संस्थाहरूका लागि निर्देशिका जारी गर्दै विद्युतीय कारोबारलाई थप सहज र सुरक्षित बनाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले निर्देशिकामार्फत भनेको छ, ‘विद्युतीय कारोबारमा आएको व्यापकतासँगै वृद्धि भएको साइबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापनलाई प्रभावकारी र व्यवस्थित बनाउनको लागि यो निर्देशिका जारी गरिएको छ ।’ निर्देशिका जारी भएपछि राष्ट्र बैंकले विद्युतीय कारोबार थप सुरक्षित र प्रभावकारी हुने र यसले आम नागरिकको विद्युतीय माध्यमद्वारा हुने नगद स्थानान्तरणसम्बन्धी कारोबार थप सुरक्षित र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।
साइबार हमलाबाट जोगिन प्रणालीको विकास र सुधारमा संस्थाहरूले ध्यान दिनुपर्ने र परिपक्व प्रणालीको निर्माण गर्न भनेको छ । ‘आउटसोर्स’ सेवाप्रदायकबाट लगातार व्यावहारिक समाधान राख्ने र प्रविधिको आधुनिकीकरण र अद्यावधिकमा लगानी बढाउन सुझाव दिएको छ ।