काठमाडौं, वैशाख २१
कोरोना भाइरस (कोभिड–१९)को ६१ हजारभन्दा बढी व्यक्तिको परीक्षण गरिएको छ । त्यसमध्ये पीसीआर विधिबाट १३ हजार ९८ र आरडीटीमार्फत ४८ हजार ५ सय २९ व्यक्तिको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार २ सय ५२ जनाको परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार प्रदेश नं १ मा पाँच हजार २ सय ८२, प्रदेश नं २ मा पाँच हजार ६ सय ८७, वाग्मती प्रदेशमा पाँच हजार ५ सय १५, गण्डकी प्रदेशमा पाँच हजार ४ सय ११, प्रदेश नं ५ मा चार हजार २ सय ४०, कर्णाली प्रदेशमा पाँच हजार ५ सय ७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ आरडीटी परीक्षण गरिएको हो । हाल काठमाडौँमा चार र उपत्यकाबाहिर ८५ गरी ८९ शङ्कास्पद व्यक्तिलाई आइसोलेसनमा राखेर निगरानी भइरहेको छ ।
परीक्षण गरिएकामध्ये सङ्क्रमण रोकथामका लागि सरकारले बाहिरबाट आउने शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने कामलाई पनि प्रभावकारीरुपमा अघि बढाएको छ । प्राप्त विवरणअनुसार हाल मुलुकभर २२ हजार ९ सय ७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ८ सय ६५, प्रदेश नं २ मा एक हजार ३ सय ९१, वाग्मती प्रदेशमा ५ सय ११, गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नं ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा पाँच हजार ५ सय ७१ व्यक्ति क्वारेन्टाइनमा रहेका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
मन्त्रालयले कल सेन्टरमा दुई हजार ८४ कलको सम्बोधन गरिएको जनाएको छ । अहिले स्वमूल्याङ्कन विवरण बुझाउनेको सङ्ख्या २९ हजार पुगेको छ । हाल ३ सय १९ जना रेड जोनमा रहेका र उनीहरूलाई ट्रेसिङ गर्ने कार्य जारी रहेको छ । विराटनगरमा कोशी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेकामा त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट समेत परीक्षण सुरु भएकाले कुल १७ स्थानबाट सेवा थालिएको छ ।
कोभिड–१९ सङ्क्रमणको सङ्ख्या ५९ नै रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ४९ जना पुरुष र १० महिला छन् । हालसम्म १६ जना निको भएर फर्किएका छन् । कुल ४३ जना उपचाररत छन् । रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा एक/एक, वीरगञ्जमा आठ र विराटनगरमा ३१ जना उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
जर्मनीबाट २० हजार थान पीसीआर प्राप्त हुँदै : जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पीसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा तीन हजार थान पीसीआर नेपाल ल्याइएको बताएको छ । काठमाडौैंस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै बाँकी पीसीआर र अन्य उपकरण स्थलमार्ग हुँदै चीनबाट ल्याइने बताएको छ । शनिबार नै तीन हजार थान पीसीआर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले महामारीको वर्तमान अवस्थामा गुणस्तरीय स्वास्थ्य उपकरणबाट सङ्क्रमण भए÷नभएको परीक्षण गर्नु अपरिहार्य भएकाले सहयोगस्वरुप ती उपकरण उपलब्ध गराइएको बताए । यसैबीच जर्मनीले कोभिड–१९ प्रतिकार्यमा सघाउन जर्मन विकास सहयोगमार्फत नेपाली– जर्मनी स्वास्थ्य परियोजनाका लागि जर्मनीको आर्थिक सहयोग मन्त्रालयबाट अतिरिक्त लगानी गर्ने जनाएको छ ।