काठमाडौं । बालाजुस्थित काठमाडौं बिजनेस क्याम्पसले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई एक महिने बेसिक नेटवर्किङ्ग तथा अप्रेटिङ सिस्टमको निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।
समृद्धि स्कुलको स्वामित्व तथा व्यवस्थापनमा सञ्चालित सो क्याम्पसले आगामी भदौ २१ गते बिहीबारदेखि दैनिक डेढ घण्टा सैद्धान्तिक तथा व्यावहारिक तरिकाले सिस्को सिस्टम्सबाट मान्यता प्राप्त प्रशिक्षकद्वारा तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हो । अहिलेको डिजिटल विश्वमा सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्नेहरूका लागि तथा यस क्षेत्रमा काम गर्न चाहनेका लागि नेटवर्किङ तथा अपरेटिङ सिस्टमको ज्ञान र सिप अतिमहत्वपूर्ण र आवश्यक छ । यसै उद्देश्यका साथ यो निःशुल्क तालिम सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।
तालिमपश्चात् प्रशिक्षार्थीहरूले विस्तृतरूपमा नेटवर्किङ तथा अपरेटिङ सिस्टमको सैद्धान्तिक र व्यावहारिक ज्ञान र सिप हासिल गर्नेछन् । यस तालिममा सहभागी भई सफल हुने प्रशिक्षार्थीले सिस्को सिस्टम्सले प्रदान गर्ने प्रमाणपत्र पाउने बताइएको छ । १२ कक्षा उत्तीर्ण भई सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने व्यक्तिहरूले सम्पर्क गरी निःशुल्क भर्ना तथा तालिम गर्न सक्ने बताइएको छ ।