काठमाडौं । कागज व्यवसायीहरुले उधारो असुली ऐन ल्याउन सरकारसँग माग गरेका छन् । कागज व्यवसायी संघ नेपालको २२औँ वार्षिक साधारणसभा सहभागी व्यवसायीहरुले उधारो असुली ऐनको अभावमा व्यवसायीले अनेकौँ झमेलाको सामना गर्नुपरेको बताउँदै सो ऐन यथाशीघ्र जारी गर्न सरकारसँग माग गरेका हुन् ।
संघका अध्यक्ष मनोहरदास मूलको सभापतित्वमा सम्पन्न साधारणसभामा व्यवसायीहरुले वर्तमान आर्थिक परिदृश्यको समीक्षाका साथै कागज व्यवसायका चुनौतीमाथि व्यापक छलफल गरेका थिए ।
संघको सभाले उधारो असुली ऐन यथाशीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराउने, आयकर, मूल्य अभिवृद्धिकर, भन्सार मूल्यांकन र क्षेत्रमा विद्यमान अप्ठ्यारा हटाउन पहल गर्नेलगायत प्रस्ताव पारित गरेको छ ।
यस्तै पछिल्लो समय आर्थिक गतिविधि सुस्ताएको र व्यवसायीको मनोबल गिर्दै गएको विषयमा पनि सरकारलाई गम्भीर भएर सोच्न र तदनुरुप कार्ययोजना ल्याउन आग्रह गर्ने निर्णय साधारणसभाले गरेको छ ।
सभाले कार्यसमितिको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । यसैगरी सभाले मनोहरदास मूलको अध्यक्षतामा आगामी तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष राजेन्द्र काबरा, महासचिव दिनेश चोखानी र कोषाध्यक्ष कमल तोदी रहेका छन् ।