काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार रुपैयाँलो बढेको छ । यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर तीन रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई सय ३५ रुपैयाँँले बढेको छ । निगमले बढाएको मूल्य बिहीबार रातिदेखि लागू भएको छ । भारतीय आयल कर्पोरेसनले बिहीबार मूल्य बढाएर पठाएपछि आयल निगमले समायोजन गरेको हो ।
निगमका अनुसार भारतीय आयल कर्पाेरेसनले पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन रुपैयाँ १७ पैसा र दुई रुपैयाँ ४८ पैसा मूल्य बढाएर पठाएको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर एक सय ८६ रुपैयाँ ४५ पैसा बढेर आएको छ ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८२ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टीतेलको प्रतिलिटर एक सय ७० रुपैयाँ कायम भएको छ । निगमले विभिन्न ठाउँअनुसार मूल्य फरक तोकेको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य देशभर एउटै कायम हुनेगरी एक हजार आठ सय ९५ रुपैयाँ तोकेको छ ।