लन्डन, वैशाख २१
अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी संकटमा परेको पाइएको छ । यो संख्या कुल कामदारको झण्डै आधा संख्या भएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को तथ्यांक अनुसार उनीहरूले अहिले नै बेरोजगारीको संकट भोगिसकेका छन् । विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अनौपचारिक क्षेत्रका मजदुरहरू मर्कामा परेका हुन् ।
अनौपचारिक क्षेत्रअन्तर्गत पर्ने उत्पादन व्यापारलगायतका क्षेत्रमा काम गर्ने कामदारहरु ‘गम्भीर संकट’मा परेको सङ्गठनले जनाएको छ । कोरोना भाइरसको संक्रमण विश्वभरी फैलिएपछि सङ्गठनले विश्वभरी गरेको सर्वेक्षणको बुधबार सार्वजनिक भएको तेस्रो संस्करणमा यस्तो विवरण उल्लेख गरिएको छ ।
विश्वभरी झण्डै तीन अरब तीन करोड कामदार भएको जनाइएको छ । ती मध्ये दुई अरबले औपचारिक क्षेत्रमा काम गर्ने गरेका छन् भने बाँकी अनौपचारिक क्षेत्रमा कार्यरत कामदारको रुपमा रहेका छन् । कोरोनाका कारण संकटमा परेकाहरू अधिकांश शारीरिक श्रम गर्नेहरु रहेको अध्ययनबाट देखिएको छ । उनीहरूले आम्दानी गुमाएकाले जीवन धान्न पनि समस्या हुने गरेको पाइएको र यसले उनीहरुलाई ठूलो घाटा भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कोरोना फैलिने डरले लकडाउनको घोषणा गरिएको ठाउँमा मजदुरहरुलाई बढी समस्या परेको छ । त्यसको तुलनामा लकडाउन नभएका ठाउँमा असर कम परेको छ । त्यसैगरी प्रभावित भएकामध्ये अफ्रिका र अमेरिकामा ८० प्रतिशत, युरोप र मध्य एसियामा ७० प्रतिशत र एसियामा २१.६ प्रतिशत कामदारहरूले मात्रै काम गरेका छन् ।