काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप तथा कर्जा खाताबीचको अन्तर धेरै छन् । बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार निक्षेप खाताको संख्या पाँच करोड नाघिसक्दा कर्जा खाता केही लाखमा सीमित छ । बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा खाताबीच देखिएको यस्तो अन्तरले करोडौँ व्यक्तिबाट जम्मा भएको रकम केही सीमित व्यक्तिको हातमा पुग्ने गरेको पुष्टि हुन्छ ।
मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको संख्या घट्दै गए पनि शाखा कार्यालय विस्तारमा बैंकहरूले जोड दिएका थिए । यही कारण वित्तीय पहुँच बढेकोले निक्षेपको खाता बढेको देखिन्छ । तर, अर्थतन्त्रमा देखिएको मन्दीका कारण कर्जा विस्तार हुन नसकेपछि कर्जा खाताको संख्यामा खासै ठूलो बढोत्तरी हुन सकेको छैन । त्यसो त नेपालको वित्तीय प्रणालीमा निक्षेप र कर्जा खाताको अन्तर निकै फराकिलो छ । खासगरी बैंकिङ कारोबारमा अभ्यस्त नहुनु, कर्जा प्राप्त गर्न झन्झटिलो हुने भएकाले अझै पनि अनौपचारिक कारोबार हुने भएकाले कर्जा खाताको संख्या बढ्न नसकेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थामा कुल पाँच करोड ११ लाख ७७ हजार नौ सय २३ निक्षेप खाता सञ्चालनमा छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६२ लाख पाँच हजार नौ सय ५४ ले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म बैंक तथा वित्तीय संस्थामा कुल चार करोड ४९ लाख ७१ हजार नौ सय ६९ निक्षेप खाता सञ्चालनमा थिए ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा २० वटा वाणिज्य बैंकहरूको कुल निक्षेप खाता संख्या चार करोड ३९ लाख ८१ हजार आठ सय ८८ कायम छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ५० लाख ८९ हजार तीन सय ५६ ले बढी हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूमा कुल तीन करोड ८८ लाख ९२ हजार पाँच सय ३२ खाता सञ्चालनमा थिए । विकास बैंकहरूको निक्षेप खाता संख्या ६४ लाख ६४ लाख १३ हजार छ सय ८९ छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा नौ लाख ७७ हजार छ सय ५४ ले बढी हो । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या ५४ लाख ३६ जार ३५ थियो । फाइनान्स कम्पनीहरूमा रहेको कुल निक्षेप खाताको संख्या सात लाख ८२ हजार तीन सय ४६ छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा एक लाख ३८ हजार नौ सय ४४ ले बढी हो । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या छ लाख ४३ हजार चार सय दुई थियो ।
आर्थिक वर्ष २०७८/७९ मा कुल १८ लाख २९ हजार ४४ वटा कर्जा खाता सञ्चालनमा रहेकामा गत आर्थिक वर्ष त्यो संख्या बढेर १८ लाख ४५ हजार दुई सय १३ पुगेको छ । गत आर्थिक वर्ष मात्रै कुल १६ हजार एक सय ६९ नयाँ कर्जा खाता थपिएका छन् । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूमा खोलिएका कुल कर्जा खाताको संख्या १५ लाख १२ हजार एक सय ९३ छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २० हजार चार सय २६ ले बढी हो । अघिल्लो आर्थिक वर्ष १४ लाख ९१ हजार सात सय ६७ कर्जा खाता खोलिएका थिए । यस्तै विकास बैंकहरूमा आर्थिक वर्ष २०७८/७९मा दुई लाख ९५ हजार छ सय ९२ कर्जा खाता सञ्चालनमा रहेकामा गत आर्थिक वर्ष घटेको देखिन्छ । कुल चार हजार चार सय ५६ खाता संख्या घटेर गत आर्थिक वर्षको असार मसान्तसम्म दुई लाख ९१ हजार दुई सय ३६ मा झरेको छ । फाइनान्स कम्पनीहरूको कर्जा खाता संख्या भने एक सय ९९ ले बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा ४१ हजार पाँच सय ८५ कर्जा खाता सञ्चालन गरेका फाइनान्स कम्पनीहरूको आर्थिक वर्ष २०७९/८०मा ४१ हजार सात सय ८४ पुगेको छ ।