काठमाडौं । वित्तीय संस्था संघले गत साता आयोजना गरेको नेपाल वित्तीय प्रतिवेदन मान–९ सम्बन्धी दुई दिने तालिम बुधबार सम्पन्न भएको छ । तालिममा विभिन्न वित्त कम्पनीमा कार्यरत ४५ जनाभन्दा बढी विभागीय प्रमुखको उपस्थिति थियो ।
केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहआयोजकका तर्फबाट सीए रमेश धितालले एफ आर एस–९को गणनाका लागि विगत वर्षका कर्जाको तथ्याङ्क एकरूपताका साथ राख्नुपर्ने साथै कर्जा, जोखिम, आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि विभाग सम्मिलित समिति तत्काल गठन गरी बैंक तथा वित्तीय संस्थाले दुई वर्ष नकुरी पूर्व तयारीमा रहनुपर्ने बताए ।
साथै, प्रतिवेदन मान–९ लागू गर्न आवश्यक पूर्वाधार विकासका लागि सहजीकरण गर्न तथा छिमेकी मुलुकमा गरिएका इसीएल अर्थात् (एक्सपेक्टेड क्रेडिट लस) सम्भावित नोक्सानी व्यवस्था कार्यान्वयनका अभ्यास अध्ययन गरेर केन्द्रीय बैंकले मार्गदर्शन प्रदान गर्न समेत अनुरोध गरे । कार्यक्रमको समापन सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, बैंक सुपरीवेक्षण विभाग प्रमुख देवकुमार ढकाल, नियमन विभाग प्रमुख डा गुणाकर भट्ट, वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख विश्रुत थापा तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका निर्देशक राजन विक्रम थापाको सहभागिता रहेको थियो ।
सो अवसरमा २०८०/८१ को प्रथम त्रैमासको प्रतिवेदनदेखि नै वित्तीय प्रतिवेदनमान–९ अनुसारको कर्जा नोक्सानी व्यवस्था इसीएल अनुरूप कायम गर्नुपर्ने भएकाले वित्तीय संस्था संघलाई आफ्ना कार्यरत कर्मचारीलाई पोख्त बनाउन निर्देशन दिए । विभिन्न सफ्टवेयरमा ठूलो धन राशी खर्च गर्नुभन्दा एक्सेललाई नै पूर्णरूपमा प्रयोग गरी कर्जा नोक्सानी व्यवस्था गणना गर्न सकिने भएकोले त्यसतर्फ लाग्न र सफ्टवेयर खरिदबापत हुने ठूलो विदेशी मुद्रा खर्च रोक्न सुझाव दिए ।