काठमाडौँ । थुनामा रहेका पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेको छ । शुक्रबार पाकिस्तानी नागरिक हईलाई न्यायाधीशद्वय सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले रिहा गरी आफ्नै देश फिर्ता गराउन आदेश गरेको हो ।
सरकारले पाकिस्तानी नागरिक हईलाई भिसा नियमित नगरी नेपालमा बसेको दाबी गर्दै सन् २०१९ को अक्टोबर ७ तारेखदेखि पक्राउ गरी थुनामा राखेको थियो । भिसा नियमित नगरी आठ सय २३ दिन नेपाल बसेको उल्लेख गर्दै अध्यागमन विभागले रु. सात लाख ८१ हजार तीन सय ८९ दशमलव १२ भिसा र विलम्ब शुल्क रु. ५० हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।
पाकिस्तानी नागरिक हईलाई रकम बुझाउन नसकेपछि सातवर्ष कैद गर्ने गरी विभागले कारागार पठाएको थियो । आफूलाई थुनामुक्त गरी आफ्नो देश फिर्ता गर्न माग गर्दै हईले सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरेका थिए ।
अदालतले न्यायिक मूल्य र मान्यताको पालना नभएको उल्लेख गर्दै हईलाई थुनामुक्त गरी आफ्नै देश पठाउन सरकारलाई आदेश दिएको हो । उक्त मुद्दामा अधिवक्ताद्वय विकास भट्टराई र मनिषकुमार श्रष्ठले बहस गरेका थिए ।