काठमाडौं । कोभिड १९ का कारण शिथिल भएको नेपाली अर्थतन्त्रलाई सहयोग पुग्नेगरी अघि बढाएको ग्रामीण उद्यम लगानी परियोजना नेपाल सरकारलाई बोझ बन्दै गएको छ । नेपाल सरकार र एसियाली विकास बैंकबीच ग्रामीण उद्यम लगानी परियोजना सञ्चालन गर्न भएको सम्झौताबमोजिम बैंकबाट प्राप्त ऋण रकममध्ये एक करोड ९३ लाख ७६ हजार रुपैयाँको ब्याज दायित्व सरकारले व्यहोर्दै आएको छ । परियोजना सञ्चालनका लागि नेपाल सरकार र बैंकबीच ५० मिलियन अमेरिकी डलर ऋण सहयोग सम्झौता भएको थियो । यता परियोजना सञ्चालनका लागि नेपाल सरकारले सहायक ऋण सम्झौता गरी ऋण उपलब्ध गराउन साना किसान लघुवित्त वित्तीय संस्थालाई दुई अर्ब ऋण उपलब्ध गराएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखाका अनुसार उक्त ऋण रकममध्ये २०७९ असार मसान्तसम्म एक अर्ब १० करोड ८७ लाख ५० हजार रुपैयाँ ऋण कायम भएको र ८९ करोड १२ लाख ५० हजार रुपैयाँ ऋण लेखांकन हुन बाँकी रहेको छ ।
बैंकबाट प्राप्त ऋण रकममध्ये एक करोड ९३ लाख ७६ हजार रुपैयाँ राष्ट्र बैंकमा रहेका अमेरिकी डलर खातामा मौज्दात रहेको छ । सम्झौताबमोजिम ऋण परिचालन नहुँदा नेपाल सरकारले परिचालन नभएको रकमको ब्याज दायित्व वहन गर्नुपर्ने र तोकिएका लाभग्राही सुविधाबाट वञ्चित हुने भएकाले सम्झौताबमोजिम ऋण परिचालन गर्नुपर्दछ । सरकारले उक्त परियोजनाको जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको थियो । अर्थले थप रकम निकासा भए/नभएको बारेमा भने अनभिज्ञता प्रकट गरेको छ । रकम कति सरकारको खातामा आएको छ सो विषयमा पछिल्लो जानकारी नभएको बताएको छ ।
ग्रामीण स्थानमा रहेका नागरिकले स्थानीय स्रोत साधनको प्रयोग गरी उत्पादन बढाउने नीति लिएको परियोजना कार्यान्वयन हुन नसक्दा सरकारलाई ऋण दायित्व बढ्दै गएको हो । एकातर्फ ग्रामीण अर्थतन्त्र उकास्ने, अर्कोतर्फ स्थानीयस्तरमा रोजगारी समेत प्राप्त हुने गरी लाभदायिक देखिएको परियोजनालाई सरकारी तथा निजी तवरबाट खेलाँची गर्दा समस्यामा परेको देखिन्छ ।
त्यस्तै, मन्त्रालय वा सरकारले परियोजना अघि बढाउनको लागि साना किसान लघुवित्तबीच सम्झौता गरेको थियो । सम्झौताअनुरूप लघुवित्तले आगामी पाँच वर्षभित्र सामूहिक ५० जना र व्यक्तिगत पाँच सय जना कृषि उद्यम सञ्चालन ल्याउने कार्यक्रम रहेको जनाएको थियो तर त्यसलाई कार्यान्वयन गर्न नसक्दा कार्यक्रम अलपत्र परेको पाइन्छ । जसले गर्दा नेपाल सरकारलाई ब्याज दायित्व बढ्दै गएको छ । यद्यपि लघुवित्तले भने परियोजनाका साथै आर्थिक उत्थानका लागि विभिन्न काम गर्दै आएको जानकारी दिएको छ । लघुवित्तले लघु तथा कृषि वित्त सेवा, किसानका लागि उन्नत बीउबिजन, नवीकरणीय ऊर्जा, पशुधन प्रवद्र्धन, पशुपालन तथा तरकारी खेती, सीप तथा क्षमता विकास, साना किसान सहकारी अनुसरणमार्फत महिला सशक्तीकरण तथा नेतृत्व विकासजस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।