काठमाडौं । विराटनगर भन्सार कार्यालयले गैरकानुनी भन्सार जाँचपासमा संलग्नको छानबिन सुरु गरेको छ । सरकारले भन्सार एजेन्टले प्रनिनिधि राख्ने व्यवस्था खारेज गरिदिएपछि भन्सार प्रतिनिधिको काम गर्दै आएकाहरू कर्मचारीको रूपमा नियुक्त भएर भन्सार जाँचपासमा संलग्न भएका छन् ।
पुरानै प्रतिनिधि फेरि भन्सार एजेन्टको कर्मचारीमा नियुक्त भएर जाँचपासमा संलग्न भएपछि कार्यालयले कारबाहीका लागि छानबिन सुरु गरेको हो । कानुनीरूपमा प्रतिबन्ध लागेपछि अधिकांश भन्सार एजेन्टका प्रतिनिधिहरूले उद्योग प्रतिनिधिदेखि भन्सार एजेन्टको कर्मचारीका रूपमा नियुक्ति बनाएर धमाधम भन्सार जाँचपासको काम गरिरहेका छन् । स्वतन्त्र भन्सार प्रतिनिधि संगठन र राष्ट्रिय भन्सार परिषद् नामका संगठन निर्माण गरी समितिमा बसेका भन्सार एजेन्टका प्रतिनिधिहरूले भन्सार एजेन्टको कर्मचारीमा नियुक्ति लिएर जाँचपासमा संलग्न भएको स्रोतको दाबी छ । सोबारेमा हाल विराटनगर भन्सारले अनुसन्धान गरिरहेको बताइएको छ ।
कमजोर कानुनी व्यवस्थाको फाइदा उठाएर विगतमा भन्सार प्रतिनिधिले कर्मचारीको मिलेमतोमा भन्सार जाँचपासमा अनियमितता गर्ने गरेका थिए । प्रतिनिधिबाट व्यापकरूपमा राजस्व चुहावट हुन थालेपछि सरकारले कानुनीरूपमै भन्सार प्रतिनिधिको व्यवस्था खारेज गरेको छ । तर उक्त कानुनी व्यवस्थालाई समेत चुनौती दिने गरी भन्सार प्रतिनिधिका रूपमा जाँचपास गर्दै आएको अरविन्द ठाकुरले पछिल्लो समय भन्सार एजेन्ट लगिन नम्बर ३९२ को कर्मचारी नियुक्ति लिएर खुलेआम भन्सार जाँचपास गरिरहेको स्रोतको दाबी छ । यस्तै, लगिन नम्बर ०६५ को भन्सार प्रतिनिधि नियुक्त भएका रवीन पौडेलले पनि पछिल्लो समय कुलायन ब्याट्री उद्योगको उद्योग प्रतिनिधिको नियुुक्ति लिएर लगिन नम्बर ०६५ बाटै भन्सार जाँचपासमा संलग्न हुँदै आएका छन् । केही दिन अगाडि प्लास्टिकको दाना आयातमा संलग्न भएका पौडेलले भन्सार दरबन्दी नै फरक पारी प्रज्ञापन भरेको फेला पारेपछि विराटनगर भन्सारले दुई दिनसम्म गाडी नै रोकेर अनुसन्धान गरेको थियो ।
रीत उद्योगको प्रतिनिधि र भन्सार एजेन्टको कर्मचारी नियुक्ति भएको साहारामा भन्सार जाँचपासमा सक्रिय रहेकोलाई कसरी कारबाहीको दायरामा ल्याउने भन्ने विषयमा भन्सार विभागमा छलफल चलिरहेको विराटनगर भन्सारका प्रमुुख भन्सार अधिकृत ज्ञानेन्द्र राज ढकालले जानकारी दिए । भन्सार एजेन्ट कृष्णबहादुर थापाले अरविन्द कुुमार ठाकुरलाई कर्मचारी र चेतनाथ पौडेलले रविन पौडेललाई भन्सार प्रतिनिधिकै रूपमा मान्यता दिएर भन्सार जाँचपासमा खटाएका छन् ।